Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

माओवादीको कार्यक्रमका लागि विद्यालय बन्द !


काठमाडौं । झापाको केचनकवलबाट फागुन १२ गतेबाट शुरु भएको नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान आज फागुन १३ गते मोरङ पुगेको छ ।

आज र भोलि अथवा फागुन १३ र १४ गते मोरङका विभिन्न ठाउँमा कार्यक्रम राखिएको छ । आजको एउटा जनसभा मोरङको कानेपोखरी–६ को रमाइलो बजारमा आयोजना गरिएको छ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कार्यक्रम आयोजना हुने भएपछि त्यहाँ नजिकका दुई निजी विद्यालयले बिदा दिएका छन् । ध्वनि प्रदूषणका कारण पढाइ प्रभावित हुने भएकोले नजिकै रहेका पर्ल एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुलले आज एक दिन बिदा दिएका हुन् ।

रमाइलोमा जनसभा आयोजना गरेपछि माओवादी केन्द्रले त्यहाँका चारवटा विद्यालय बन्द गर्न आग्रह गर्दै पत्र पठाएको थियो । माओवादीले बाल जगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्माेन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएको थियो । त्यसमध्ये नजिकका दुई स्कुलले बिदा दिएका हुन् । पार्टीको यो अभियान करिब ६ महिना चल्ने अनुमान गरिएको छ । माओवादीले जहाँ जहाँ कार्यक्रमको आयोजना ग¥यो त्यहाँ स्कूल बन्द गर्दै जाने हो भने यो अभियान माओवादीको लागि प्रतिउत्पादक ठहरिने स्वतन्त्र नागरिकहरु बताउँछन् ।

स्कूल बन्द गराउन अनुरोध गर्दै पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीको नामबाट पठाएको पत्रमा भनिएको छ, ‘कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

माओवादीको अभियानअन्तर्गत मंगलबार रमाइलोको सभापछि दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । बुधबार विराटनगर केन्द्रित विभिन्न भेटघाट कार्यक्रम तय गरिएको पार्टी स्रोतले बताएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट