‘मलाई बोल्न अवरोध गर्न खोजियो’

भरतपुर । जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्न अवरोध सिर्जना गर्न खोजिएको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् ।
आज मंगलबार चितवनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए हुन् ।
त्यस्तै उक्त घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए । साथै उनले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए ।
उनी झापा र मोरङका कार्यक्रम छोडेर आज माडीमा महाशिवरात्रीको अवसरमा आयोजना गरिएको ४ दिने कार्यक्रमको उद्घाटन गर्न चितवन आएका हुन् ।
माओवादीका अरु सबै पदाधिकारी अहिले मोरङकै कार्यक्रममा सहभागी भइरहेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया