सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा कुनै काम गरेको छैन : प्रचण्ड
सुनसरी, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् ।
हुलाकी मार्ग केन्द्रित अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसविरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको जिकिर गरे ।
जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।
पार्टीले उत्पीडित वर्गको पक्षमागरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको उनले बताए । आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै परिवर्तन गरिएको प्रचण्डको भनाइ छ । अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेको उनले बताए । सोही कारण जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उनको भनाइ छ ।
आफूले सरकारको नेतृत्व गर्दा धेरै मिहिनेत गरेर रासायनिक मलको आपूर्ति सहज गरिएको उल्लेख गर्दै प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए । धेरै मिहिनेत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्याएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताए ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया