माओवादी पृष्ठभूमिका विजय पौडेलको क्यानडामा राजनीतिक उचाइ
काठमाडौं । विजय पौडेल नेपाली डायस्पोरामा केही दिनदेखि निक्कै चर्चाको नाम हो । क्यानडामा विभिन्न व्यवसाय गर्ने विजयको चर्चा अहिले क्यानडाको राजनीतिमा चुलिएको छ । क्यानडाको कन्जरभेटिभ पार्टीको तर्फबाट ओन्टारियो प्रान्तको रिभर ब्ल्याक क्रिक क्षेत्रबाट औपचारिकरुपमा संघीय सांसद पदको उम्मेद्वार बनेपछि पौडेलको चर्चा उचाइमा पुगेको हो । यसअघि उनी क्यानडामा सफल व्यवसायीमध्येका एक हुन् । उनी अहिले पनि क्यानडा नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष हुन । सांसद काइल सिब्याकको कार्यालयमा विशेष सहायकको रुपमा कार्यरत पनि थिए ।
क्यानडाको नेपाली डायस्पोरामा राजनीतिबाहेक अधिकांश क्षेत्रमा नेपालीहरुले प्रगति गरिरहेका थिए । नेपाली मूलका विजय र अनिल थापाले कन्जरभेटिभ पार्टीको तर्फबाट संघीय सांसद पद्का लागि प्रतिस्पर्धा गरिरहेका थिए । त्यसमध्ये एक विजयले आन्तरिक प्रतिस्पर्धामा आफूलाई योग्य सावित गरेका छन् । माल्टन क्षेत्रमा नेपाली समुदायसँगै भारतीय मूलका क्यानडेलीको संख्या उल्लेख्य रहेको छ । पौडेल नेपाली समुदायसँगै भारतीयहरुसँग पनि उत्तिकै घुलमिल छन् । उनी भारतीय मूलका व्यक्तिहरुसँग पनि उत्तिकै परिचित छन् । त्यसैले उनले क्यानडाको राजनीतिमा अब थप उचाइ प्राप्त गर्ने अपेक्षा धेरैको छ ।
क्यानडामा झण्डै एक लाख नेपाली रहेको अनुमान छ । नेपालीहरु क्यानडाका सबै क्षेत्रमा छरिएर रहेका छन् । क्यानडामा सुरुवातमा संघर्ष गरेर नेपालीहरुले विभिन्न क्षेत्रमा आफूलाई अब्बल सावित गरिरहेका छन् । क्यानडाको मूलधारको राजनीतिमा नेपालीहरु पुगेका थिएनन् । अब भने विजयलाई त्यो ढोका खुलेको छ । कन्जरभेटिभ पार्टीमा उनी लोकप्रीय बनिरहेका छन् । क्यानडेली नागरिकको अनुभवमा नेपालीहरु अत्यन्तै इमान्दार र मेहनती हुन्छन् ।
क्यानडामा सन् २००० सम्म नेपाली विद्यार्थी मात्रै जाने गरेका थिए । त्यसपछि भने बिस्तारै विभिन्न पेशा व्यवसायमा आवद्धहरुले आफ्नो रोजाइ क्यानडा बनाए । यसले नेपालीका लागि आकर्षक गन्तव्यको रुपमा क्यानडा पर्न थाल्यो । पछिल्लो तीन वर्षको अवधिलाई हेर्दा झण्डै ५० हजार नेपाली क्यानडा पुगेका छन् । क्यानडामा १० वटा प्रदेश रहेका छन् । नेपालमा स्थानीय तह जस्तै क्यानडामा सिटी गभर्मेन्ट क्रियाशील छ । संघीय, प्रादेशिक र स्थानीय सरकारको कार्यक्षेत्र प्रष्ट हुँदा कामको गति राम्रोसँग मिलेको छ ।
संघीय सांसदको उम्मेदवार बन्ने विजय पहिलो नेपाली
क्यानडाको संघीय सांसदमा कन्जरभेटिभ पार्टीबाट संघीय सांसदको उम्मेद्वारी दिने विजय पहिलो नेपाली मूलका व्यक्ति हुन् । ओन्टारियो प्रान्तको म्बर रिभर ब्ल्याक क्रिक क्षेत्रबाट आफूलाई कन्जरभेटिभ पार्टीले आधिकारिक उम्मेदवार बनाएको विजयले बताए । सन् २०२१ मा पनि उनी कन्जरभेटिभ पार्टीका उम्मेदवार रहेका थिए । क्यानडाको मूलधारको राजनीतिमा उनी लामो समयदेखि सक्रिय रहेका छन् ।
विगत १५ वर्षदेखि क्यानडामा सक्रिय पौडेलले आफ्नो व्यवसायसँगै क्यानडाको मूलधारको राजनीतिमा सक्रिय हुँदै आएका छन् । सन् २०१० मा क्यानडा पुगेका उनले सुरुवाती संघर्ष गरेर विभिन्न काम गरेका थिए । त्यसपछि उनले आफ्नै व्यवसाय सुरु गरे । उनी अहिले नेपाली मूलका सफल व्यवसायी हुन् । क्यानडा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका उनी नेपाली समुदायमा सगरमाथा पार्क नामाकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुन् । उनी क्यानडामा सामाजिक अभियन्ता पनि हुन् । सामाजिक कार्यमा सक्रिय पौडेललाई क्यानडाको प्रान्तीय सरकारले कोभिडको समयमा महत्वपूर्ण योगदान गरेबापत सम्मान समेत गरेको थियो । उनलाई रेसपोनसिबल सिटिजन अवार्ड प्रदान गरिएको थियो ।
पौडेलले गतवर्ष एमपि कायल सिबैकका लागि क्यानाडियन हाउस अफ कमनबाट नेपाल मामिला हेर्नका लागि निमित्त विशेष सहयागीको नियुक्ति पाएका थिए । त्यस्तै क्यानडाको पिल रिजनल पुलिसले उनलाई कम्युनिटी अम्बासडरकोरुप्मा नियुक्त गरेको थियो । नेपाली समुदायको हितमा अग्रपंतिमा रहेर काम गर्ने उनले सबैको सहयोगबाट संघीय चुनाव जितेर क्यानडाको संसदमा पहिलो पटक नेपाली मुलको उपस्थितिमा इतिहास बनाउने छन् ।
पौडेलले नेपाली समुदायको एकताकै आधारमा आफू निर्वाचनमा सफल हुने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘नेपाली समुदायको एकताकै आधारमा म निर्वाचनमा सफल हुने निश्चित देखेको छु । म सबै नेपाली समुदायलाई मलाई सहयोग गर्नका लागि अपिल गर्दछु । विगतमा जस्तै सबै नेपाली समुदायको सहयोगको अपेक्षा मैले गरेको छु । मेरो मात्र नभएर सबै नेपालीका लागि यो ठूलो अवसर पनि हो ।’
क्यानडाको हाउस अफ कमन्समा विभिन्न राज्यबाट तीन सय सय ४३ जना सदस्य रहने छन् । क्यानडाको संविधानअनुसार हाउस अफ कमन्सले संघीय कानुन बनाउने गर्छ । यस पटकको पौडेलको उम्मेद्वारीलाई तीनजना क्यानडियन सांसदको समर्थन रहेको छ । क्यानडामा रहेको भारतीय समुदायको पनि ठूलो संख्यामा समर्थन रहेको पौडेलले जानकारी गराए ।
नेपालमा खेलकुद र पत्रकारितामा सक्रियता
बर्दियाको साविकको मगरागाडी २ जयनगर अर्थात बारबर्दिया नगरपालिका वडा नं ६ जयनगरमा जन्मिएका पौडेल सानैदेखि विभिन्न क्रियाकलापमा सक्रिय थिए । उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा रहँदा विभिन्न सञ्चार क्षेत्रमा काम गर्थे । नेपाल डण्डिवियो संघका संस्थापक अध्यक्षसमेत रहेका उनले सञ्चार क्षेत्र र खेलकुदमा रुची राख्थे । सन् २०१० मा आफ्नी श्रीमतीसँग क्यानडा गएका उनी अहिले आफ्नो परिवारसहित उतै बसोबास गर्छन् । दुई बालबालिका र बाबु आमासँगै छन् ।
मध्यम वर्गीय परिवारमा जन्मिएका पौडेललाई उनको परिवारले शिक्षाको अवसर प्रदान गर्न भने कुनै पनि कसर बाँकी राखेन । उनले त्रिभुवन विश्व विद्यालयबाट सूचना व्यवस्थापनमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । बुवा कृष्णबहादुर नेपाली राजनीतिक आन्दोलनमा परिचित नाम हो । उनी नेपालको हरेक परिवर्तनकारी आन्दोलनमा संलग्न छन् । जनयुद्धको क्रममा उनलाई राज्यपक्षले पटकपटक चरम यातनासमेत दिएको थियो । सानैदेखि आफ्नो परिवारलाई राज्य पक्षबाट भएको दमनबाट आजित विजयले क्यानडा गएपछि त्यहीँको राजनीतिक यात्रा प्रारम्भ गरे । त्यसैले उनको राजनीतिक पृष्ठभूमि नेपालको जनयुद्धसँग जोडिएको छ ।
क्यानडा पुगेपछि पहिलो पटक उनले एकैसाथ तीनवटा जागिर गरेका थिए । एउटा पूर्णकालीन र दुई आंशिकगरी वेयरहाउसमा सहयोगीकोरुपमा उनले काम गरे । राम्रो जीवन निर्वाहका लागि सुरुवाती दिनमा संघर्ष गरेका उनले केही समयमै आफूलाई व्यावसायिक जीवनमा प्रवेश गराए । त्यसपछि उनी नेपाली मूलका सफल व्यवसायीको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । व्यवसायीको रुपमा स्थापित भएका उनले आफ्नो व्यवसायलाई विभिन्न क्षेत्रमा फैलाउने काम गरे ।
फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको संस्थापक अध्यक्षको हैसियतमा उनले स्थानीय व्यवसायको प्रवर्धन र नेपालीका लागि रोजगारी तथा अवसरको सिर्जना गरे । त्यसै क्रममा झण्डै २० जना क्यानडेयिन उद्योगी व्यवसायी लिएर नेपालमा लगानीको अवसर खोज्नका लागि अघिल्लो वर्ष उनी नेपाल आएका थिए । हिन्दु चेम्बर्स अफ कमर्स क्यानडाको टोलीसँग आएका उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका विभिन्न क्षेत्रमा लगानीका लागि प्रस्ताव गरेका थिए । उनको टोलीमा भारतीय मूलका धेरै उद्योगी व्यवसायी आएका थिए ।
पियरे पोइलिएभरको नेतृत्व अभियानमार्फत क्यानडामा रहेका नेपाली समुदायसँग उनले समन्वयत्मक भूमिका निर्वाह गरेका छन् ।
गैरआवासीय नेपाली संघ क्यानडाको नेतृत्वदायी भूमिकामा रहेर कामसमेत गरेका उनले कन्जरभेटिभ पार्टीबाट राजनीति सुरु गरेका छन् । उनले क्यानडाको संसदमा नेपालका कला संस्कृतिलाई मान्यताका लागि निरन्तर पहल गर्दै आइरहेका छन् ।
विजय पौडेल एक संघर्ष, कठोर परिश्रम र सफलताको एक प्रेरणादायी व्यक्ति हुन् । उनले प्रवासी नेपालीको जीवनको यथार्थको सफलता चित्रण गर्दछन् । १५ वर्षको अवधिमा वेयरहाउसको सहयोगीबाट सफल व्यवसायी बनेका उनी राजनीतिक क्षेत्रमा पनि सफल सावित गर्दै अगाडि बढेका छन्् । क्यानडामा रहेको नेपाली समुदायलाई एकतामा बाँध्न र उनीहरुको सामुहिक आवाजलाई सहयोग गर्नेगरी उनको काम निरन्तर चलि नै रहेको छ ।
विजयले आफ्नो राजनीतिक अभियानका क्रममा महंगो आवास, रोजगारी, सुरक्षित समुदाय, आर्थिक विकास र आप्रवासीका अधिकारलाई प्राथमिकतामा राखेका छन् । नागरिकको आवश्यकता र चाहनालाई प्राथमिकता दिने प्रतिवद्धता उनले जनाएका छन् । विजयको राजनीतिक यात्राले क्यानडामा नेपाली समुदायको पहिचान र प्रतिनिधित्वलाई नयाँ उचाइमा पु¥याउने आशा गरिएको छ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया