Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

नेपालमा श्रमजीवीले अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् : प्रचण्ड


काठमाडौं, १८वै शाख । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा श्रमजीवीले अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौं कीर्तिमान कायम गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार भएको बताएका हुन्।

‘नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् ।’ उनले भने, ‘किसान, मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ । सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार हो ।’

उनले आज भ्रष्टाचार, बेथिति, अनियमितता, बिचौलिया र दलाल पुँजीवादसँग निरन्तर संघर्ष गर्नुपरिरहेको बताए । श्रमजीवी वर्गको नेतृत्वदायी प्रतिनिधित्व गर्दै सबै खाले बेथितिका विरुद्ध संघर्ष गर्दै निरन्तर अघि बढ्नु हाम्रो आधारभूत कार्यभार भएको उनको भनाई छ । उनले भने, ‘अहिले एकातिर प्रतिगामी तत्वहरुसँग संघर्ष गर्नुपर्ने अवस्था छ भने अर्कोतिर यथास्थितिवादका विरुद्ध श्रमजीवी वर्ग आफ्नो मौलिक पहिचानसहित अघि बढ्नुपर्ने आवश्यकता छ ।’

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको उनले बताए । उनले भने, ‘बदलिएको राजनीतिक परिवर्तनअनुरुप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रुपमा समर्पित बनौं । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौं । यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाई हुनेछ ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट