श्रमिक आयोग बनाउन शेखर कोइरालाको माग

काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउन माग गरेका छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
उनले श्रमिकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमीकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली काँग्रेस गम्भीर रहेको जिकिर गरे ।
सांसद कोइरालाले होटलमा कार्यरत श्रमिकहरुले १० प्रतिशतको कुरा गर्नुभएको उल्लेख गर्दै कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली काँग्रेसले कानुन बनाउन अघि बढ्ने प्रतिवद्धता जनाए । अहिले दुई ठुला अर्थतन्त्र भएका मुलुकबिच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताए ।
सांसद कोइरालाले श्रमिकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुन नसक्ने बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया