आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा खरो रुपमा प्रस्तुत हुन केपी ओलीको निर्देशन

काठमाडौं, २० वैशख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा खरो रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसदका बैठकमा बोल्दा आवश्यक तयारी गर्न र बोल्ने बुँदाहरू टिपोट गरेर आउन निर्देशन दिएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रतिपक्षको प्रतिवादमा उत्रन उनले सांसदहरूलाई निर्देशन दिए। प्रतिपक्षले सरकारले ल्याएका विषयवस्तुको आलोचना गर्नु स्वभाविक भएको भन्दै ओलीले सत्तापक्षले त्यसको प्रतिवाद गर्नुपर्ने बताए।
संसदमा कसैले गलत बोल्यो भने रेकर्डबाट हटाउन माग गर्ने चलन रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्तो कुरा रेकर्डबाट हटाउन नहुने तर्क गरे । सांसदहरूले सहि कुराको समर्थन र गलतको मात्रै विरोध गर्नुपर्ने भए पनि त्यस्तो नहुने गरेको भन्दै बोल्नेहरुकै नाति नातिनाले धिक्कार्ने टिप्पणी गरे ।
त्यसक्रममा ओलीले छिमेकी मुलुक भारत र पाकिस्तानबीच देखिएको तनाव लक्षित अभिव्यक्ति दिँदै आफू कसैको पक्ष वा विपक्षमा नरहेको बताए।
नेपालमा अर्को छिमेकी मुलुक चीनविरुद्ध मित्र राष्ट्र अमेरिकाले खेल्ने कोशीस गरिरहेको टिप्पणी भइरहन्छ । यसमा प्रधानमन्त्रीले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको सुनाए।
सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि २८ गतेसम्म र राष्ट्रिय सभामा भोलि र पर्सि छलफल गर्ने तयारी छ । नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले आज र भोलि बिहान ११ देखि ३ बजेसम्म दर्ता गराउन सक्नेछन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया