Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

भारतको केआईआईटीमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने सांसदहरुको माग


काठमाडौं, २१ वैशाख । राष्ट्रियसभाका सदस्यहरूले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने माग गरेका छन् । साथै, उनीहरूले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिए ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले केआईआईटीमा विद्यार्थी असुरक्षित भएको, एकपछि अर्को छात्राको शृंखलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए ।नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का सांसद मदनकुमारी साहले केआईआईटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् ।

आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे ।

घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का गंगाकुमारी बेल्वासे र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सुमित्रा बीसी थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट