पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्न माओवादी केन्द्रका सांसद सुनारको माग

काठमाडौं, २१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।
आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले तीनकुने प्रकरणमा ज्ञानेन्द्रलाई समातेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चैत १५ गते राजवादी समूहले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसामा परिणत हुँदा एक पत्रकारसहित दुई जनाको ज्यान जानुकासाथै अबौँको भौतिक सम्पति क्षति भएको थियो । पूर्व राजाको निर्देशनमा उक्त घटना घटाईएको भन्दै उनलाई छानविनको दायरामा ल्याउनुपर्ने माग गणतन्त्रवादी दलका नेताहरुले गरिरहेका छन् ।
सांसद सुनारले पनि उक्त घटनामा पूर्व राजा ज्ञानेन्द्रको भित्रि संलग्नता रहेको दाबी गरे । ‘चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्नुपर्ने थियो’, उनले भने, ‘सरकार अहिलेसम्म के हेरेर बसेको छ ? सरकारले किन ढिलासुस्ती गरेको हो ? तुरून्त पक्राउ गरेर कारवाही अघि बढाइयोस् ।’
सरकारले पूर्व राजाको परिवारलाई उपलब्ध गराउदै आएको सेवा सुविधा र सुरक्षा फिर्ता गर्नुपर्ने सांसदको माग छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया