Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

पञ्चायतलाई जिताउन सूर्यबहादुर थापाले ०३६ सालमा वैज्ञानिक वन व्यवस्था भनेर सालघारी फँडानी गरे : ओली


काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारी फँडानी हुन नहुने बताएका छन् । शनिबार (वैशाख २७) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले विकास र वातावरणमा सन्तुलन जरुरी रहेकामा जोड दिए । पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ०३६ सालमा वैज्ञानिक वन व्यवस्था भनेर सालघारी फँडानी गरेको उनले आरोप लगाए ।

“विकास र वातावरणमा सन्तुलन जरुरी छ । तर, वन क्षेत्रमै सालघारी फाँड्ने काम फँडानी यस्तो वैज्ञानिक वन व्यवस्था त पञ्चायतलाई जिताउन सूर्यबहादुर थापाले ०३६ सालमै एकपटक गरिसकेका हुन् । गज्जबले गरेका हुन् । सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेर गरेका हुन्,” उनले भने ।

उनले वैज्ञानिकताका नाममा गरिएको सालघारी फँडानीको विरोध आफूहरूले गरिरहेको बताए । सालघारी फँडानीको काम रोकिनुपर्नेमा उनले जोड दिए ।

वैज्ञानिक तरिकाले सालघारीको सदुपयोग गरिनुपर्ने र वन क्षेत्र अब धेरै विस्तार गर्न नसकिने उनको भनाइ थियो ।

सघन वनतर्फ अघि बढ्ने नीति अपनाउन जरुरी रहेको उनले औँल्याए । “ग्रामीण क्षेत्रका छेउका खाली जमिनहरू जुन वन क्षेत्रमा पर्छ, कृषकहरूका समूह बनाएर कृषि वन बनाऔँ । आँपघारी लगाइदियो, फलफूलका बगैँचा लगाऔँ,” उनले भने ।

प्रधानमन्त्री ओलीले राणाकालीन समयमा सिंहदरबारमा रोपिएका आँप अहिले पनि फलिरहेको बताए । न्युज एजेन्सी नेपाल


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट