Techie IT
Samayabaddha
सोमबार, २९ वैशाख, २०८२

सङ्घीय संसद्को दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित


काठमाडौं । संसदको दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

सरकारले सभामा पेश गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

त्यस क्रममा प्रधानमन्त्रीले सुशासन प्रवर्द्धनन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत भएको बताए  ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएको वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट