२०८४ सम्म वामपन्थी गठबन्धन हुँदैन : प्रचण्ड

डडेल्धुरा, २ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सम्म वामपन्थी गठबन्धन नहुने बताएका छन् ।
प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वामपन्थी गठबन्धन ०८४ सम्म नहुने जिकिर गरेका हुन् । उनले कांग्रेस–माओवादी केन्द्रबीच सत्ता समीकरणको हल्ला मात्रै भएको स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाए । सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको उनको भनाई छ । ‘सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ । सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन,’ उनले भने ।
अध्यक्ष प्रचण्डले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको बताए । आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको उनले बताए ।
‘विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ । हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ,’ उनले भने ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया