तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते

लमजुङ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको पाँचौं जिुल्ला अधिवेशन हिंसात्मक झडपमा परिणत भएको छ । बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा शनिबार सम्पन्न उद्घाटन सत्रमा खुकुरी प्रहार भएपछि चारजना घाइते भएका छन् ।
घटनामा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र तरुण दलका सदस्य धन घले घाइते भएका हुन् ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहोराका अनुसार घाइतेमध्ये खुसीजङ्ग गुरुङ र सुदीप अधिकारीको अवस्था गम्भीर रहेकाले उपचारका लागि चितवनको सियमी चितवन मेडिकल कलेजमा पठाइएको छ ।
घटनाको जड प्रतिनिधि छनोटको विषयमा उत्पन्न विवाद रहेको प्रहरीले जनाएको छ । अधिवेशनमा पूर्णकालीन सदस्यता र प्रतिनिधि छनोट प्रक्रियामा असहमति हुँदा दुई समूहबीच चर्काचर्की हुँदै झडपमा उत्रिएपछि खुकुरी प्रहारको घटना भएको हो ।
स्थानीयहरूका अनुसार राजनीतिक कार्यक्रमभित्र यति हिंसात्मक घटना हुनु दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । घटनाको अनुसन्धान भइरहेको लमजुङ प्रहरी कार्यालयले जानकारी दिएका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया