महेन्द्र राय भन्छन : गंगानारायणकाे माओवादी केन्द्रसँग एकता हाेइन प्रवेश

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र नारायण यादवले माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रियाबार धारणा व्यक्त गर्दै गंगानारायण श्रेष्ठलाई संयमता अपनाउन सुझाव दिएका छन् । उनलेश्रेष्ठलाई जेठ १२ गते माओवादी केन्द्रमा प्रवेश गराउने तयारी भन्दै असहमति जनाउँदै भने—“हतार नगर्नु राम्रो हुन्छ, प्रक्रिया र सहमति सबै मिलेर अघि बढ्नुपर्छ ।”
राय यादवको मूल आपत्ति माओवादी नाममा नभई प्रक्रियागत अनुशासन र पारदर्शितामा छ । उनले प्रचण्डसँग भएको वार्तामा माओवादी केन्द्रले आगामी महाधिवेशनमा पनि “माओवादी” नाम यथावत राखेमा समेत आफूहरू एकता गर्न तयार रहेको प्रतिबद्धता जनाएको जानकारी दिए । “हामीले प्रचण्डलाई भनिसकेका छौं—नामको विषयमा जटिलता भए पनि राजनीतिक एकता आवश्यक भएकाले हामी सकारात्मक छौं,” उनले प्रष्ट पारे ।
यादवले जेठ ११ गते प्रचण्डसँग समाजवादी पार्टी र माओवादी केन्द्रबीच हुने भेटलाई औपचारिक प्रक्रिया अगाडि बढाउने अवसरका रूपमा देखेका छन् । तर, त्यसअघि नै गंगानारायण श्रेष्ठलाई पार्टीमा प्रवेश गराउने तयारीले सहमतिपूर्ण प्रक्रिया भङ्ग हुने भन्दै आपत्ति जनाएका छन् ।
“११ गते भेटवार्ता तय भएको छ, त्यसपछि प्रक्रिया अघि बढाउने सहमति थियो । अब १२ गते गंगा श्रेष्ठलाई प्रवेश गराउनुको राजनीतिक सन्देश के हो ?” यादवको प्रश्न थियो ।
माओवादी केन्द्रले असार महिनामा केन्द्रीय समिति बैठक बोलाएर महाधिवेशनको मिति तय गर्ने तयारी गरिरहेको छ । यस्तो अवस्थामा गंगानारायण श्रेष्ठलाई प्रवेश गराउने हतार कति आवश्यक थियो भन्ने प्रश्न उठाउँदै यादवले कटाक्ष गरे—“के आकाश खस्यो र प्रवेश गराउन यति हतार भयो ?”
गंगानारायण श्रेष्ठको प्रवेशपछि बाबुराम भट्टराईसँग समाजवादी पार्टीको एकता हुने हो भन्ने अडकलबारे यादव स्पष्ट छन्—“गंगा प्रवेश गरिसके पनि बाबुरामसँग हामी मिल्दैनौं ।” उनका अनुसार, समाजवादी पार्टीको आधिकारिकता आफूहरूकहाँ छ र बाबुराम समूहसँग मिल्नु पार्टीको राजनीतिक धार र हैसियत कमजोर पार्ने काम हुनेछ ।
समाजवादी पार्टीको नाम र अधिकारबारे बाबुराम भट्टराई पक्षसँग अदालतमा मुद्दा विचाराधीन रहेको स्मरण गराउँदै यादवले नामको प्रयोग र स्वामित्वको विषय अन्यौलपूर्ण रहेकाले गम्भीर भएर मात्र निर्णय गर्नुपर्नेमा जोड दिए । उनले गंगानारायण श्रेष्ठको प्रवेशलाई माओवादी नामको खोलामा समाजवादी पहिचान लुकाउने रणनीतिको संज्ञा दिए ।
यादवले महासचिवमार्फत गंगानारायणसँग संवादको पहल भइरहेको जानकारी दिए । “हामी एकता प्रक्रियालाई संस्थागत र न्यायोचित बनाउन चाहन्छौं,” उनले भने । ११ गतेको भेटपछि माओवादी केन्द्रसँगको सहमति र कार्यदिशा तय हुने उनले जानकारी दिए ।
गंगानारायण श्रेष्ठप्रति व्यक्तिगत असहमति नभए पनि पार्टी एकता राष्ट्रिय राजनीतिक स्थायित्वका लागि आवश्यक भएकाले त्यसलाई संयमता, सहमति र विधिसम्मत तरिकाबाट अघि बढाउनुपर्नेमा यादवको जोड छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया