माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीसँग लतारिनु हुँदैन : राजेन्द्र पाण्डे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले माओवादी केन्द्रकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको राजनीतिक व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै एकीकृत समाजवादी “लतारिनु नहुने” बताएका छन् ।
पाण्डेले हालको सत्ता समीकरणमा माओवादी केन्द्र र रास्वपाको व्यवहारले विपक्षीहरूकाे हैसियतलाई कमजोर तुल्याउने खालको प्रवृत्ति देखिएको टिप्पणी गरे । उनले राजनीतिक सहकार्य सम्मानजनक ढंगले हुनुपर्नेमा जोड दिँदै भने, “हामी कोही पनि अरूको पछि लतारिन सक्दैनौं । समान सम्मानको आधारमा मात्र सहकार्य सम्भव हुन्छ । कसैले निर्णय गर्छ अनि खुरूखुरू पछि लाग्ने हुन्छ ?”
वरिष्ठ उपाध्यक्ष पाण्डेले संसदमा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् । उनले अगाडि भने, “कसैको बारेमा कुरा उठ्ने बित्तिकै बाेल्नै नदिने प्रवृत्ति देखिएको छ । संसद भनेको छलफलको थलो हो, यहाँ हरेक सांसदलाई बोल्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।”
वरिष्ठ उपाध्यक्ष पाण्डेको अभिव्यक्तिले विपक्षीभित्रै सहकार्य र सन्तुलनको विषयमा नयाँ बहसको सुरुवात गरेको देखिएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया