मधेसमा सरोज कुमार यादव मुख्यमन्त्रीमा नियुक्त, पानस होटलमै शपथ !
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी छन् । प्रदेश प्रमुख भण्डारीले यादवलाई सोमबार विहान संविधानको धारा १६८(३) बमोजिम नियुक्ती गरेको जनाएकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भन्दै उपचारका लागि काठमान्डौ जान लागेको पूर्व मुख्यमन्त्री जितेन्द्र सोनललाई बताएकी थिईन । तर उनले बिहानै बर्दिवासको पानस होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको घटना एकाएक बाहिरिएपछि मधेस प्रदेशमा राजनीतिक हलचल तीव्र बनेको छ ।
मधेसको मुख्यमन्त्री नियुक्त भएलगत्तै सरोजकुमार यादवले अन्य तीन मन्त्री नियुक्त गरेका छन् । यादवले एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एकजना मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट लखन दास, संघीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई मन्त्री नियुक्त गरेका हुन्
नवनियुक्त मन्त्रीलाई पनि प्रदेश प्रमुख भण्डारीले पानस होटलमै शपथ गराएकी छन् ।
प्रदेश सभामा संघीय समाजवादी तथा राप्रपाका एक–एक जना सांसद रहेको अवस्था छ ।
राप्रपाबाट मन्त्री बनेकी बिच्छालाई उनको दलले मन्त्रीबाट फिर्ता बोलाइसकेको छ ।
यसबीच, प्रदेशको नेतृत्व परिवर्तनको विषयमा अन्य दलहरूले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन् । नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, माओवादी केन्द्रलगायत सात दलले हिजो साँझ मात्र प्रदेश प्रमुखसमक्ष संयुक्त ज्ञापनपत्र बुझाउँदै नयाँ सरकार गठनको प्रक्रिया संविधानको धारा १६८(२) अनुसार अघि बढाउन माग गरेका थिए । उनीहरूका अनुसार मुख्यमन्त्रीको राजीनामा भएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनको बाटो बनाउनुपथ्र्याे, तर त्यो प्रक्रिया पूरा नहुँदै एमालेको नेतृत्वमा नयाँ सरकार गठनको घोषणा गरियो ।
मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।
स्वास्थ्य समस्याका कारण उपचार गर्न काठमाडौं हिँडेकी भण्डारीले एक होटेलमा पुगेर एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उनले यो खेलले मधेश प्रदेशको अस्मिता समाप्त पारेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् ।’
अहिले सामाजिक सञ्जालमा प्रदेश प्रमुखलाई महाअभियोग लगाएर हटाउन माग गरिएको छ ।
सोमबार बिहानै प्रमुख भण्डारी उपचारका लागि काठमाडौं जान भनेर बिदाइ भएकी थिइन् । काम चलाउ मुख्यमन्त्री सोनलले नै उनलाई बिदाइ गरेका थिए । तर, त्यसको केही समयपछि भण्डारीले ठूलो दलको हैसियतले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको समाचार बाहिरियो ।
मुख्यमन्त्री जितेन्द्र सोनलले गत शनिबार प्रदेश सभामा बहुमत देखाउन नसकेपछि राजीनामा दिएका थिए ।
सत्ता समीकरण फेरबदलसँगै प्रदेशका राजनीतिक दलहरू बीच आरोप–प्रत्यारोप चलिरहेको छ । विपक्षी दलहरूले प्रदेश प्रमुखको निर्णयलाई असंवैधानिक भन्दै एमालेको गोटी बनेको आरोप लगाएका छन् । उता प्रमुख भण्डारीले भने आफ्नो निर्णय संविधानकै अक्षर र भावना अनुसार गरिएको दाबी गरेकी छन् ।
मुलुकमा संघीयताप्रतिको वितृष्णा फैलिंदै गइरहेको बेला मधेशको पछिल्लो घटनाले त्यस्तै विचारलाई बढावा दिने विश्लेषकहरुको भनाइ छ ।
मधेश प्रदेशमा नयाँ सरकारले आगामी दिनमा बहुमत साबित गर्छन वा पुनः राजनीतिक अस्थिरता सिर्जना हुने हो भन्ने विषय अहिले चर्चामा रहेको छ ।
माओवादीको कारण सोलनको राजीनामा
माओवादीको आन्तरिक द्वन्द्वको कारण मधेश प्रदेशमा जितेन्द्र सोनलको नेतृत्वमा बनेको सरकार गठन भएको एक महिना नपुग्दै ढलेको थियो ।
प्रदेशसभामा ९ सदस्य रहेको माओवादीका दुई सांसद रहबर अन्सारी र माला कर्णले सोलनलाई मत नदिने अडान लिएपछि सोनलले विश्वासको मत नलिइकन राजीनामा दिएका थिए । १०३ सदस्य रहेको मधेश प्रदेशमा ५४ सांसदको समर्थनमा जितेन्द्र सोलन असोज २९ गते मुख्यमन्त्री नियुक्ती भएका थिए ।
कार्तिक १७ मा माओवादी केन्द्रका मातृका यादवले भरतप्रसाद साहलाई संसदीय दलको नेतामा पुन नियुुक्ति गरेपछि अन्सारी र कर्ण असन्तुष्ट भएका थिए । साहले आफू र अर्का एक सांसदको नाम मन्त्रीका लागि अघि बढाउने तयारी गरेका थिए ।
लोसपाको पक्षमा हाल ५२ जना सांसद रहेको देखिए पनि नेपाली कांग्रेस–एमाले गठबन्धनको पक्षमा ५१ जना सांसद उभिएका छन् । प्रदेशसभामा भएका जम्मा १०३ जना सांसदमा सभामुखले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेकोले सत्ताको सन्तुलन एक मतको अन्तरमा अड्किँदा सोलनले राजीनामा दिन बाध्य भएका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो अस्थिर समीकरणले मधेश प्रदेशलाई प्रदेशसभा विघटनको संघारसम्म पु¥याएको छ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया