नेपाली कम्युनिस्ट पार्टी र भिम रावल नेतृत्वको मातृभूमी राष्ट्रिय जागरण अभियानबीच पार्टी एकता हुने !
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र भिम रावल नेतृत्वको मातृभूमी राष्ट्रिय जागरण अभियानबीच पार्टी एकता गर्ने निर्णय पक्कापक्की भएको छ। यसले देशको वाम–राजनीतिमा नयाँ संकेत देखिएको हो। दुवै पक्षका नेताहरूबीच भएको राजनीतिक संवाद र सहमतिबाट अब एकता औपचारिक रूपमा कार्तिक २६ गते घोषणा गरिने तयारी गरिएको छ।
सचिवालयका अनुसार एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा दिउँसो २ बजे हुनेछ। सो अवसरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहित अन्य शीर्ष नेतृत्वको उपस्थित रहने अपेक्षा गरिएको छ। कार्यक्रमलाई भव्य बनाउने तयारी पार्टीहरूले गर्दै आएका छन्।
भिम रावलको राजनीतिक यात्रा र पृष्ठभूमि
भिम रावल लामो समयदेखि नेपालको वाम–राजनीतिमा प्रमुख पात्रका रूपमा पहिचान भएका नेता हुन्। एमालेभित्र संगठित नेता मानिने रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए।
त्यही प्रतिस्पर्धाले पार्टीभित्र ठूलो राजनीतिक तरंग ल्याएको थियो। महाधिवेशनमा हार बेहोरेपछि रावल एमाले नेतृत्वसँग मतभेदको घेरामा पुगेका थिए। ओलीसँगको सम्बन्ध चिसिँदै जाँदा रावलले आफ्नै बाटो खोज्ने संकेत दिएका थिए, जसको परिणामस्वरूप मातृभूमी राष्ट्रिय जागरण अभियानमार्फत नयाँ संगठनात्मक सक्रियता देखिन थालेको थियो।
यही सक्रियता र हालको राजनीतिक परिस्थितिले रावललाई अर्को वामपन्थी शक्ति निर्माणको खोजतर्फ उन्मुख गरायो। नेपाली कम्युनिष्ट पार्टीसम्बद्ध नेतृत्वसँगको संवाद र सहकार्यको प्रस्तावले अब पूर्ण एकताको मोड लिएको छ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया