‘हेभिवेट’ त जम्मा भए तर रुपान्तरण कसरी ?
काठमाडौं । कम्युनिष्ट एवम् बामपंथी धाराका १२ राजनीतिक दल र समूहहरू एकताबद्ध भएपछि नेपाली कम्युनिष्ट पार्टी हेभिवेट नेताहरूको संगम भएको छ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, तीन पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल, तीन पूर्व सभामुखहरू कृष्णबहादुर महरा, अग्नि सापकोटा र ओनसरी घर्ती, चार उपप्रधानमन्त्रीहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, डा. भीम रावल र महरा यसैमा समाहित छन् ।
साथै कम्युनिष्ट आन्दोलनका अन्य पुराना, नयाँ र मन्त्री, मुख्यमन्त्री भैसकेकाहरू सयौं छन् । संख्यात्मक हेर्दा देशकै सबैभन्दा धेरै नेताकार्यकर्ता भएको पार्टी बनेको छ यो । तर, जममतबाट सबैभन्दा ठूलो सावित हुने चुनौती भने यससामु प्रखर भएर आएको छ ।
जसरी यसले माओवाद र जनताको बहुदलीय जनवादको परीक्षाको अनुभवसहित त्यसभन्दा अगाडि बढेर मुलुकलाई बैज्ञानिक समाजवादमा डोहोर्याउने सैद्धान्तिक लक्ष्य लिएको छ, त्यस लक्ष्य सिद्ध गर्ने कार्यदिशा र कार्यनीतिले नै यो पार्टीको भविष्य निर्धारित गर्नेछ ।
आजै र आफैंबाट लागू गरिने के कस्ता राजनीतिक, आर्थिक र सामाजिक कार्यक्रम तय गरिन्छन् र त्यसमा समुदाय आकर्षित हुने के कस्ता उदाहरणीय प्रयास सावित गरिन्छन्, त्यो हेर्न बाँकी नै छ । तर नेताहरूको आजसम्मको भनाइ र गराइबीचको अन्तरविरोध हेर्दा आशा गरिहाल्ने अवस्था चाहिँ छैन ।
नेपाली कम्युनिष्ट पार्टीले जनतामा आफूमाथि साँच्चीकै आकर्षण र आशा पैदा गर्ने हो भने आफैंभित्रको आचरणमा आगो झोस्न सक्नुपर्छ । त्यो भनेको बैज्ञानिक समाजवादी अभियानकर्मीको सांस्कृतिक मूल्य निर्धारण र त्यसअनुसारको आचरण निर्माण हो । अनि मात्र समुदायले त्यो सिको गर्न सक्नेछ ।
आजै पनि नेपाली कम्युनिष्ट पार्टीका कयौं हेभिवेट र अन्य नेताहरू प्रश्नको घेरामै छन् । सत्तामा पुगेर ब्रम्हलुट गरे भन्ने आरोपबाट ती मुक्त छैनन् । कसैलाई राज्यकै अनुसन्धान निकायले अदालतमा मुद्दा हालेका छन्, कसैलाई पुर्पक्षका लागि भन्दै हिरासत गरिएको छ र कसैलाई अनियमितताको प्रमाणसहित मिडियामा ल्याइएको छ ।
ती निर्दोष होलान् या दोषी नै होलान्, यो भोलि सावित भैहाल्ने छ । तर, यथास्थितिमा ती घटनाक्रम र व्यक्तित्वबारे पार्टीको धारणा के हो, यति त भन्नै सक्नुपर्छ । किनकि नेताहरूको खानपान, बसउठ, आम्दानी-खर्च र त्यसको फाँटबारीबारे समुदायमा प्रशस्त सन्देह छ । जेनजी प्रदर्शन त्यसै भएको होइन ।
हालका लागि कमसेकम इमान्दार कार्यकर्ता तहले र अन्ततः पब्लिकले अडिट गर्नसक्ने गरी नेताको अर्थ-सांस्कृतिक आचरण निर्धारण गर्न सकेन भने नेपाली कम्युनिष्ट पार्टी पनि अरुभन्दा तात्विक भिन्न हुने छैन ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया