वर्तमान सरकार ढाल्न ओली र प्रसाईंको साठगाँठ,यस्ता उत्तेजक बोलीका कारण हिरासत पुगे दुर्गा
सुशीला कार्की नेतृत्वको वर्तमान सरकार ढाल्नका लागि निवर्तमान प्रधानमन्त्री केपी ओली र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक चुच्चो भएर साँठगाँठ गरेको रहस्य खुलेको छ । स्रोतका अनुसार, आपसी समन्वयमा आन्दोलन गर्न, यो सरकार गिराएर नयाँ सरकार बनाउन दुवै पक्ष राजी भए पनि नयाँ प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा भने विमति देखिएको छ । ‘ओलीले आन्दोलनमार्फत् यो सरकार हटाएर अर्का पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा नयाँ सरकार बनाउने तर्क राखे तर, प्रसाईंले त्यो सरकारको प्रधानमन्त्री आफू बन्नुपर्ने शर्त तेस्र्याए’ स्रोतले भन्यो आन्दोलन गर्ने, सरकार हटाउनेसम्म कुरा मिले पनि नयाँ बनाउने प्रममा आएर अड्कियो ।’ यस विषयमा ओलीले कल्याण श्रेष्ठलाई पनि अनौपचारिक रुपमा भेटेर छलफल गरेको र सरकार ढाल्ने थप सूत्रहरू खोज्न भनेको बताइन्छ ।
ओली–प्रसाईं समूह वर्तमान सरकारलाई असफल तुल्याउने कसरतमा जुटिरहँदा प्रसाईं भने मंसिर १ गते सोमबार मध्यराति पक्राउ परेका छन् । उनलाई राति १२ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ स्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रसाईं पक्राउ पर्नुमा कामभन्दा पनि बोली हावी र कारक भएको दावी प्रहरीको छ । उनले पक्राउ पर्नु करिव ७ घण्टाअघि प्रहरीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । त्यसमा २३–२४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीमाथि भएको आक्रमण अझै कम भएको भन्दै प्रहरीप्रति प्रसाईं आक्रोशित देखिन्थे । सोमबार साँझ नै उनको निवासबाट प्रहरीले केही पर्चा भेट्यो । पर्चा लगेपछि थप आक्रोशित बनेका उनले भिडियोमार्फत प्रहरीलाई सार्वजनिक रुपमा गाली वर्षाए ।
उसो त केही दिनअघिदेखि नै प्रसाईंले उत्तेजित र सुरक्षा वातावरण धमिल्याउने अभिव्यक्ति दिदै आएका थिए । अझ पछिल्लो चरणमा त मंसिर ६ गतेदेखि भीषण आन्दोलनको आँधिवेहरी ल्याउने, संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रका लागि रगत नै बगाउनेजस्ता उनको अभिव्यक्तिले सरकार र सुरक्षा निकायमात्रै होइन, सर्वसाधारणदेखि उच्चपदस्थ व्यक्ति धेरैको ध्यान खिच्यो । र, त काठमाडौंमा जोखिम बढाउने निरन्तरको अभिव्यक्तिपछि सरकार र सुरक्षा निकायको समन्वयमा प्रसाईंलाई मध्यराति पारेर ‘सुटुक्क’ पक्राउ गरिएको हो । उनलाई गिरफ्तार गर्नुअघि शनिवार र आइतवार सुरक्षा निकाय अनि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको स्रोत बताउँछ । स्रोत भन्छ– ‘पछिल्लो समय प्रसाईंले बम पड्काउनेदेखि राजमार्ग ठप्प पार्नेसम्मको निरन्तर दिएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल पु¥याउने, आतंकित पार्ने किसिमको देखाएकाले उनलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने सुरक्षा निकायको ब्रिफिङ थियो ।’
२६ कात्तिकमा प्रसाईं संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का तर्फबाट गृहमन्त्रीसँग छलफल भएको थियो । जहाँ उनीहरूले २७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएर आएपछि ७ मंसिरअघि नै माग पूरा भए आन्दोलन रोकिन नत्र आन्दोलन हुने चेतावनी महाअभियानले दिएको थियो । उनीहरूले संविधान खारेजदेखि ऋण मिनाहासम्मका माग राखेका थिए । र, त प्रसाईंले भनेबमोजिमको आन्दोलन मितिको पूर्वसन्ध्यामा उनलाई पक्राउ गरिएको छ । र, मंगलवार नै चार दिनको लागि म्याद थप गरिएको छ । यदि प्रसाईंले घोषित आन्दोलन फिर्ता नलिए म्याद थप गरी अझै केही दिन हिरासत राख्ने प्रहरीको तयारी छ ।
त्यसो त प्रसाईंका लागि प्रहरी हिरासत, जेल नौलो कुरा होइन, उनी पक्राउ परेको यो चौथो पटक हो ।
यसअघि उनी भारतको आसामबाट पक्राउ परेका थिए । १५ चैत २०८१ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रसाईं त्यतिबेला पक्राउ परेका हुन् । २८ चैतमा प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई पक्राउ गरेको थियो । उनीमाथि कर्तव्य ज्यानदेखि ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रवको मुद्दा चलाइएको थियो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि उनी डिल्लीबजार कारागार चलान भएका थिए । तर, उच्च अदालतले जिल्लाको आदेश उल्ट्याउँदै छाड्न आदेश दिएपछि १९ साउनमा डिल्लीबजार कारागारबाट रिहा भए । त्यसअघि प्रसाईं ४ मंसिर २०८१ मा पक्राउ परेका थिए । उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो । त्यतिबेला उनले तत्कालिन प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाएका थिए । ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब लगानी गरेको आरोप लगाएका थिए । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा चलाइएका प्रसाईं त्यतिबेला धरौटीमा रिहा भएका थिए ।
यस्तै, त्यसअघि ६ असोज २०८१ मा प्रसाईंलाई साइबर ब्युरोकै टोलीले पक्राउ गरेको थियो । जीवन पाण्डे र प्रकाशचन्द्र दाहालले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । प्रसाईंले सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला पनि उनी सामान्य धरौटीमा रिहा भएका थिए । त्यसअघि प्रसाईंविरुद्ध दुई वटा साइबर कसुरको मुद्दा, सम्पत्ति शुद्धीकरण, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रवको कसुर मुद्दा चलिसकेको छ । र, अहिले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलेको छ । प्रसाईं त्यस्ता व्यक्ति हुन् जो एकै वर्षमा चार पटक पक्राउ परिसकेका छन् ।
प्रसाईंको जीवनशैली पनि विचित्रको छ । उनी कहिले सामान्य मजदुरशैली अपनाउँछन् भने कहिले विलासी जीवनमा देखिन्छन् । उनको क्रियाकलाप–गतिविधि भने पाइला–पाइलामा शंकास्पद भेटिन्छ । प्रसाईं हरेक कुराकानी, कामकारवाही रेकर्ड गर्दछन् । प्रहरीको अनुसन्धानलाई आधार मान्ने हो भने उनले निजी सुरक्षाको रुपमा ५० जना युवाहरुलाई खटाइरहेका छन् । प्रसाईंले आफ्नो आईटी विज्ञको रुपमा पनि दुई जना राखेका छन् ।
यसैबीच प्रसाईंको पछिल्लो पक्राउको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाउँदै अबिलम्ब रिहाइको माग गरेको छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले मंगलवार विज्ञप्ति जारी गर्दै प्रसार्इंको पक्राउ सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गर्ने भएको बताएका छन् । ‘अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ,’ राप्रपाले भनेको छ– ‘प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ ।’
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया