दाहाल भन्छन : ‘पार्टीका नाम–नारा बद्लिए, तर मानसिकता उहीँ रह्यो’
काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेश्वर दाहालले देशका राजनीतिक दलहरूमा रूपमात्र बद्लिएको तर मानसिकता भने जस्ताको तस्तै रहेको आरोप लगाएका छन्। उनका अनुसार २०६३ सालअघि र त्यसपछि पार्टीकै चरित्र र राजनीतिक संस्कारमा ठूलो अन्तर आए पनि नेतृत्वगत सोच भने परिवर्तन हुन सकेको छैन।
दाहालका अनुसार शान्ति प्रक्रियापछि पछिल्ला दुई दशकमा राजनीतिक पदलाई सेवा र त्यागको माध्यमभन्दा ‘नाम, दाम र व्यक्तिगत सुविधा’ कमाउने साधन बनाइने प्रवृत्ति बढ्दै गएका कारण दलहरूको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको छ।
उनले भने, “पार्टीभित्र विवेकमा उभिने, सत्य बोल्ने र प्रश्न गर्ने मान्छेहरूलाई मन पराइँदैन। ‘सुरक्षित संरचना’ बनाउने नाममा स्वतन्त्र र सिद्धान्तनिष्ठ कार्यकर्ताहरूलाई निरन्तर किनारामा धकेलिन्छ।”
दाहालले पार्टीहरूमा दशकौँदेखि चल्दै आएको सिण्डिकेट संस्कार आजसम्म यथावत् रहेको उल्लेख गर्दै नाम र संरचना बदलिँदै गए पनि नेताहरूको नातावाद, सिफारिस तन्त्र र व्यक्तिगत समीकरण नै निर्णयको आधार भइरहने बताए। उनका अनुसार नेका, एमाले र माओवादी केन्द्र—सबै दलमा यही प्रवृत्ति दोहोरिइरहेको छ।
उनले हालै सार्वजनिक गरिएको १३८ सदस्यीय सूची पनि उही प्रवृत्तिको निरन्तरता भएको दाबी गर्दै आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै बनेका गठबन्धनहरू विचार वा सिद्धान्तभन्दा पनि अस्तित्व सुरक्षित गर्ने रणनीति मात्र भएको बताए।
दाहालले वर्तमान राजनीतिक संरचनालाई कर्पोरेट कम्पनीसंग तुलना गर्दै भने, “आजको राजनीति सेवा होइन, रिटर्न-केन्द्रित छ। पद प्रतिष्ठा ‘इनभेष्टमेन्ट’ जस्तै बन्यो, निर्णय ‘शेयर होल्डर’ले गर्छन्। यस्ता संरचनामा इमानदार र जनउत्तरदायी मान्छेहरू हतोत्साहित हुन्छन्।”
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया