रुकुममा जनार्दन शर्माविरुद्ध कालो झण्डा प्रदर्शन
रुकुम । पार्टी फुटाएको आरोप लगाउँदै बिघटित नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्माविरुद्ध गृह जिल्ला रुकुममा विरोध प्रदर्शन गरिएको छ। शर्मा रुकुम आएका बेला सल्ले एयरपोर्टको बाहिर पहिलाका आफ्नै नेता–कार्यकर्ताले कालो झण्डा देखाएर विरोध जनाएका हुन्।
सधैँ फूलमाला लिएर स्वागत गर्न आउने स्थानीय नेता तथा कार्यकर्ताले यस पटक भने पार्टी फुटाएको आरोप लगाउँदै शर्माविरुद्ध नाराबाजी गरेका थिए। एयरपोर्ट क्षेत्रमा सुरक्षाकर्मीको उपस्थितिबीच करिब केही मिनेटसम्म कालो झण्डा देखाएर असन्तुष्टि व्यक्त गरिएको स्थानीयले बताए।

जनार्दन शर्मा रुकुमबाट लगातार निर्वाचित प्रतिनिधि मात्र होइन, विभिन्न समयमा मन्त्रीसमेत भइसकेका केन्द्रीय नेता हुन्। तर पछिल्ला दिनमा माओवादीभित्र देखिएको अन्तर्कलह, विभाजन र नेतृत्वप्रति असन्तुष्टिका कारण स्थानीय तहसम्म पनि असन्तोष तीव्र बन्दै गएको छ।
स्थानीय कार्यकर्ताले पार्टी फुटाएर जनमत र आन्दोलनको विश्वास तोडिएको आरोप लगाउँदै अब जिल्लामा नेताको स्वागत होइन ‘जवाफदेहिता’ मागिने समय आएको बताएका छन्। शर्माका समर्थक भने पार्टीभित्रका मतभेदलाई स्वाभाविक प्रक्रिया बताउँदै विरोध ‘भावनात्मक प्रतिक्रिया’ मात्र भएको दाबी गर्छन्।
शर्माले भने यसबारे औपचारिक टिप्पणी गरेका छैनन्।

क्याटेगोरी : राजनीति



















प्रतिक्रिया