नेपाली कांग्रेसको दोहोरो नीति !
काठमाडौं । देशमा निर्वाचनको माहौल बन्दै गएको बेला नेपाली कांग्रेसका विघटित संसदका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आइतबार सर्वाेच्च अदालतमा रिट पेस गरेका छन् । सांसदहरुले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस दिएर रिट पेस गरेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको वैठकले फागुन २१ को घोषित निर्वाचनमा जाने निर्णय गरिसकेको छ । यी आठ सांसदले अदालतको ढोका ढक्ढक्याउनलाई केवल उनीहरुको व्यक्तिगत निर्णय मात्र मान्न नसकिने विश्लेषकहरुको भनाई छ । यस घटनाले नेपाली कांग्रेसको दोहोरो चरित्र उदाङ्गो बनेको छ । उनीहरु पार्टीको निर्णयविपरीत सर्वाेच्च अदालत गएका हुन् भने कारवाहीको भागिदार बन्न सक्छन् ? अहिले प्रश्न उठेको छ ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत, महामन्त्री गगन थापा तथा नेता डा. शेखर कोइराला सबैले रिटलाई संस्थागत नभई व्यक्तिगत निर्णय भनेर उम्किरहेका छन् । उनीहरुका अनुसार कांग्रेसको आधिकारिक निर्णय भनेको निर्वाचनमा जाने हो, र त्यसभन्दा बाहिर गएर गरिएको संसद पुनस्र्थापनाको निवेदन पार्टीको लाइन होइन ।
तर रिट दायर गर्ने पक्षका सांसदहरूले पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेकाले त्यसलाई संवैधानिक रूपमा चुनौती दिनु लोकतान्त्रिक अभ्यास भएको बताएका छन् । कांग्रेसले विघटनविरुद्ध नैतिक तथा राजनीतिक रूपमा कडा आलोचना गरे पनि अदालतमा रिट नजाने निर्णय गरेको थियो ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया