Techie IT
Samayabaddha
आईतबार, १८ माघ, २०८२

रूकुम पूर्वका नेता कमरेड आयामलाई खुला पत्र


आदरणीय (भेनाजु) कमरेड पुर्ण बहादुर घर्ती ज्यू,
क्रान्तिकारी अभिवादन सहित हार्दिक सम्मान ।

दस वर्षे महान् जनयुद्धको एउटा साक्षी र सहयात्रीका रूपमा म तपाईंलाई केवल एउटा नेता होइन, वैचारिक ऊर्जा, सिर्जनशीलता र सरल व्यवहारका प्रतीकका रूपमा सम्झन्छु । युद्धकालमा तपाईंले सिर्जना गर्नुभएको क्रान्तिकारी गीत–संगीतले कठिन समयहरूमा हामीलाई निराश हुन नदिई लडिरहन प्रेरित ग¥यो । भूमिगत जीवनका ती क्षणहरू–दाङको गोगुली सेल्टरदेखि रोल्पा–रुकुमका कठिन यात्रासम्मका सहयात्राहरु (आज पनि स्मृतिमा उत्तिकै ताजा छन् ।

०५५/ ५६ सालतिर म लेखन र युद्दपत्रकारिता तालिम लिन आदरणिय कमरेड रविन्द्र श्रेष्ठकोमा बसेको बेला हजुर वैठकमा उपस्थित हुन पुग्नु भएको थियो, गोगली सम्पर्क घरमा । याद आउँछ, ‘लौ न डाइजिनको ब्यबस्था गरौं !’ भनेर हजुरले भन्दा रविन्द्र श्रेष्ठ सरले –‘अपच भयो कि’ भन्दा ‘होईन् डाइजिनले भोक पनि पचाउँछ नी!!’ भनेर भन्दा हाँसोको फोहोरा छुट्यो त्यो भूमिगत जीवनमा बाहिरै पुग्ने गरी । लाग्छ, रातभरको लामो र कष्टकर यात्राबाट आउनु भएको थियो, थकान र भोकले पनि सताएको थियो तर हँसाउने ताकत घटेकै थिएन ।

युद्धकालीन जनवादी विवाहपछि तपाईं मेरो नाताले भेनाजु पनि पर्नुहुन्छ । तर त्योभन्दा गहिरो सम्बन्ध हामीबीच आन्दोलनको संस्कार र साझा सपनाको हो । पछिल्लो समय सिंहदरबारमा भेट्दा तपाईं संघीय सांसद हुनुहुन्थ्यो, तर भाषाशैली, व्यवहार र सादगी उस्तै लोभलाग्दो थियो–त्यसैले आज पनि सम्मान झन् बढेको छ । हजुरले फेसबुक पेजमा कोर्नु भएका हजुरको जीवन संगिनी मेरो प्यारी आदरणिय दिदीको नामका प्रेमील पत्रहरू, छोरी तथा मेरी स्नेही भान्जीलाई सम्बोधन गरेका उर्जाशील अभिभावकको जिम्मेवार खुला पत्रहरू अनि मेरो सहकर्मी प्रिय दोस्त जनवादी गायक, सर्जक तथा संगीतकार मोहित श्रेष्ठलाई लेखिएको पत्र ! सबै हजुरका अमूल्य रचनाहरू अध्ययन गर्ने मौका पाएको छु । हजुरको जीवन र संघर्सलाई एउटा उत्कृष्ट खुला पुस्तकका रूपमा लिने सौभाग्य पाएको छु र खुशी छु ।

यही सम्मानका साथ, म तपाईंले हालै शहीद सन्तति कमरेड सन्दीप पुनलाई सम्बोधन गर्दै लेख्नुभएको पत्रमाथि आफ्नो धारणा सार्वजनिक गर्न चाहन्छु । मैले त्यो पत्रलाई केवल एक शुभेच्छुकको सुझावका रूपमा होइन, जनयुद्धको अनुभवी साक्षीबाट आएको गम्भीर राजनीतिक हस्तक्षेपका रूपमा लिएको छु । इतिहासका साक्षीले प्रश्न गर्नु स्वाभाविक हो ।

तर अझ गम्भीर प्रश्न यो हो कि–इतिहासकै साक्षीले आफ्नै आन्दोलनका अनाथ सन्ततिलाई कसरी हेर्छन् ? कमरेड सन्दीप पुन कुनै साधारण कार्यकर्ता होइनन् । उनी दूधे बालक हुँदा बुवा–आमा दुवै जनालाई महान जनयुद्दको दौरान गुमाएका शहीद सन्तति हुन् । उनको जीवन ‘विशेष सुविधा’मा होइन, अभाव, असुरक्षा र पार्टीप्रतिको भरोसामै हुर्किएको इतिहास हो । हामीले वर्षाैं भन्यौं–“शहीदका छोराछोरी हाम्रो सामूहिक जिम्मेवारी हुन् ।” आज प्रश्न उठ्छ– के त्यो जिम्मेवारी भाषणमा मात्र सीमित रह्यो ? तपाईंको पत्रमा भनिएको छ –

“शहीदको विरासत सुविधा होइन, जिम्मेवारी हो ।”

यसमा असहमति छैन । तर मूल प्रश्न अर्कै हो– के शहीदको विरासत नेतृत्वलाई सुरक्षित राख्ने कवच मात्रै हो ? यो गम्भीर बिषयमा छलफल गरौँ । के त्यही आन्दोलनका सर्वाेच्च कमाण्डर आज शहीद सन्ततिकै राजनीतिक यात्रामा प्रतिस्पर्धी बन्नु कुनै नैतिक प्रश्नको विषय होइन ? अध्यक्षले रूकुम पुर्व नै रोज्नु परेको किन ? त्यो तीन पालिकाको सानो निर्वाचन क्षेत्रमा हुर्किरहेका सयौ नौजवान युवा नेतृत्वहरूलाई त्यहाँबाट चुनिन पाउने अवसर दिनु पर्दैन र ? अध्यक्ष कमरेड जता जता चुनावी क्षेत्र लिनु भयोे के त्यहाँ चमत्कार गर्नुभयो ? मलाई लाग्छ, विवाद रहित पक्कै छैनन् । राम्रो गर्नु हुन्छ तर शहीदका रगतको असली मूल्य सहिदकै रक्तबीज सन्दिप पुनलाई त्यो माटोमा नेता बनाउँदा गल्ती हुन्छ र ?

हजुरकै माटोको, आफ्नै गाउँको सन्तान सन्दीप पुन रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् । यो गर्वको विषय बन्नु पर्छ । यो आकस्मिक महत्वाकांक्षा होइन, बरु पार्टीभित्रै शहीद सन्ततिले न्याय खोजेको राजनीतिक अभिव्यक्ति हो । यदि पार्टी आज पनि बाबुआमा गुमाएका सन्तानको अभिभावक बन्न सक्दैन, र यदि पार्टी अध्यक्ष स्वयं त्यही सन्ततिको राजनीतिक यात्रामा अवरोध बन्नुहुन्छ भने, त्यसमाथि प्रश्न गर्नु ‘सामन्ती उत्तराधिकार’ होइन – सामन्ती प्रवृत्तिको निरन्तरताविरुद्धको संघर्ष हो ।

“पहिले जनतामा खारिनु” भन्ने सुझाव सैद्धान्तिक रूपमा ठीक लाग्न सक्छ । तर सन्दीप पुन जनताबाट टाढा रहेको कुनै आकस्मिक पात्र होइनन् । रुकुम पूर्वका पेल्मा, हुकाम, मैकोट उनका भाषणका शब्द मात्र होइनन् त्यही माटोले उनलाई हुर्काएको हो, त्यही माटोले राजनीतिमा धकेलेको हो ।

घाइते, अपाङ्ग, विस्थापित योद्धाहरूको पीडा उनले फोटो र भाषणमा देखेका होइनन् – आफ्नै जीवनको इतिहासमा मुस्किलले बाँचेर भोगेर आएका हुन् । तपाईंले उठाउनुभएको ‘जेन्जी विद्रोह’ सम्बन्धी टिप्पणी आवेगमाथि केन्द्रित देखिन्छ । तर आजको यथार्थ के हो भने – नयाँ पुस्ताको असन्तोषलाई आवेग भनेर खारेज गर्नु नै आन्दोलनको वैचारिक संकट हो । यदि संगठनभित्र प्रश्न सुन्ने लोकतान्त्रिक संस्कृति छैन भने, त्यो प्रश्न बाहिर गुञ्जिनु अस्वाभाविक होइन । हजुर जस्तो विद्वान माओवादी नेताले यसमा विचार गर्नु पर्छ ।

अन्त्यमा यति मात्र भन्न चाहन्छु– सन्दीप पुन शहीदको छोरो भएर सत्ता खोज्दै हिँडेका छैनन् । उनी शहीदको छोरो भएर आन्दोलनलाई नैतिक संकटबाट बचाउन खोज्दै छन् । यो लडाइँ व्यक्ति विरुद्ध व्यक्ति हुँदै होइन । यो लडाइँ त यस्तो लाग्छ, शहीदको सपना र सत्तामा रूपान्तरण भएको नेतृत्व बीचको हो । यदि यो प्रश्नलाई दबाइयो भने, इतिहासले सन्दीप पुनलाई मात्र अन्याय गर्ने होइन, बरु हामी सबैलाई दोषी ठहर गर्नेछ । र,शहीदको रगतमाथी अन्याय हुनेछ । महान वीर शहीदहरु केवल भाषणको अलंकार होइनन, बरू उत्तर खोज्ने इतिहास पनि हुन् । यो एउटा यक्ष प्रश्नको जबाफ अवस्य दिनु पर्नेछ ।
क्रान्तिकारी सम्मान सहित,
लाल सलाम ✊
विजय के.सी. ‘विकल्प’
रोल्पा, हाल काठमाण्डौं ।
२०८२ माघ ०६


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट