हरिबोल गजुरेलसहितका नेताहरूमाथि गरिएको कारबाहीप्रति झलनाथ खनालको आपत्ति
काठमाडौं । नेकपाका नेता झलनाथ खनालले हरिबोल गजुरेललगायत नेताहरूमाथि गरिएको कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार फेसबुकमार्फत् खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजुरेलसहित नेताहरूमाथि गरेको कारबाही गलत भएको बताएका हुन् । उनका अनुसार वरिष्ठ नेताहरूलाई स्पष्टीकरण दिने मौका नदिई सिधै पार्टीबाट निकाल्नु उचित होइन । साथै, पार्टीका अन्य नेताहरूलाई पनि यसबारे जानकारी नदिई मिडियाबाट मात्रै थाहा पाउनु आश्चर्यजनक भएको उनले बताएका छन् ।
खनालले नेकपालाई सही अर्थमा कम्युनिस्ट पार्टी बनाउन यस्तो कारबाही तुरुन्त रोक्नुपर्ने बताएका छन् । उनले गजुरेलसहित नेतृत्व तहका सबै नेताहरूको आकस्मिक बैठक बोलाएर किन यस्तो निर्णय गरियो भन्ने विषयमा गम्भीर छलफल गर्न माग गरेका छन् । पार्टीमा एकल निर्णय होइन, सामूहिक निर्णय र नेतृत्व प्रणाली हुनुपर्नेमा उनले जोड दिएका छन् ।
पार्टीको निर्णय विपरीत सिन्धुली–२ बाट महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि हरिबोल गजुरेल र महेश्वर दाहाललाई पार्टीबाट निष्कासन गरिएको हो ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया