Techie IT
Samayabaddha
बुधबार, २५ चैत्र, २०८२

साउदीसँग भएको श्रम सम्झौतामा के छ ?


काठमाडौं । खाडी मुलुक साउदी अरबसँग कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौता भएको छ ।

आइतबार राति नेपाल र साउदीबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । साउदीको रियादमा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्य सहित श्रमिक भर्नासम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन् ।

नेपाल र साउदीबीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसलगत्तै नेपालले १९७८ मा साउदीमा चार्ज डे अफेयर्सको स्तरमा दूतावास खोलेको थियो भने साउदीले सन् २०१२ मा मात्रै नेपालमा दूतावास खोलेको थियो । साउदीसँग श्रम सम्झौता भएसँगै श्रम सम्झौता हुने देश संख्या १३ पुगेको छ ।

नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौताका लागि पहल गर्दै आएको थियो । सम्झौताका लागि पटक–पटक मस्यौदा समेत तयार पारिएको थियो ।

तर, साउदीले नेपालबाट घरेलु श्रमिक लैजानुपर्ने भन्दै त्यो विषयमा समेत सम्झौताका लागि आग्रह गर्दै आएको थियो । नेपालले भने घरेलु श्रमिक पठाउन प्रतिबन्धका कारण घरेलु श्रमिक सम्बन्धी सम्झौता गर्न नसकिने प्रष्ट पार्दै आएको थियो ।

गत १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । तर, २३ र २४ भदौको जेनजी आन्दोलनका कारण सरकार ढलेपछि सम्झौतामा हस्ताक्षर गर्न ढिलाइ भएको थियो ।

के छ सम्झौतामा ?

दुई देशबीच भएको सम्झौतामा वैदेशिक रोजगारीका लागि साउदी जाने नेपाली श्रमिकको प्रभावकारी, नैतिक तथा व्यवस्थित भर्ना सुनिश्चित गर्न आवश्यक उपाय अवलम्बन गर्ने, रोजगारदाता तथा कामदार दुवैको अधिकार संरक्षण गर्ने उद्देश्य छ ।

त्यस्तै श्रमिक र रोजगारदाताबीच करारजन्य सम्बन्ध नियमन गर्ने सम्झौताको उद्देश्य छ ।

अन्तर्राष्ट्रिय मापदण्ड तथा सम्बन्धित कानुन, नियम र विनियम बमोजिम साउदीमा काम गर्न जाने नेपाली श्रमिकको भर्ना, परिचालन तथा स्वदेश फिर्तीसम्बन्धी पारस्परिक रूपमा स्वीकार्य प्रणाली विकास तथा कार्यान्वयन गरिने उल्लेख छ ।

श्रमिकहरूको भर्ना पक्षहरूको आन्तरिक कानुन, नियम तथा विनियम बमोजिम वैधानिक माध्यमबाट इजाजतप्राप्त तथा नैतिक भर्ना अभ्यास गर्ने भर्ना कार्यालय, कम्पनी वा एजेन्सीमार्फत मात्र कामदारको भर्ना सुनिश्चित गर्ने विषयमा समेत दुई देश सहमत देखिएका छन् ।

त्यस्तै दुवै देशमा श्रमिक भर्नासँग सम्बन्धित लागत नियमन गर्ने तथा उक्त लागत नियन्त्रण गर्न आवश्यक प्रयास गर्ने विषयमा समेत सहमत भएका छन् ।

दुवै देशका भर्ना कार्यालय, कम्पनी वा एजेन्सी तथा रोजगारदाताले कामदारको भर्ना तथा परिचालनसँग सम्बन्धित कुनै पनि खर्च कामदारबाट असुल नगर्ने वा कामदारको तलबबाट कटौती नगर्ने तथा कुनै पनि किसिमको अनधिकृत तलब कटौती नगरिने सुनिश्चित गर्ने विषयमा समेत नेपाल र साउदी सहमत भएका छन् ।

विवाद उत्पन्न भएको अवस्थामा लागु कानुन, नियम तथा विनियम बमोजिम सक्षम निकाय समक्ष निवेदन दिई उपचार खोज्न पाउने अधिकार कामदार तथा रोजगारदाता दुवैलाई सुनिश्चित गर्ने समेत सहमति भएको छ ।

प्रचलित कानुन, नियम तथा विनियम उल्लंघन गर्ने भर्ना कार्यालय, कम्पनी वा एजेन्सी विरुद्ध आवश्यक कानुनी कारबाही गर्ने विषयमा समेत नेपाल र साउदी सहमत भएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट