धादिङमा निर्वाचन शान्तिपूर्ण बनाउन पाँच दलको साझा प्रतिबद्धता
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न धादिङ जिल्लाका पाँच राजनीतिक दलले साझा प्रतिबद्धता जनाएका छन् ।
मंगलबार बिहान धादिङबेसीमा सम्पन्न बैठकमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्व तथा दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले निर्वाचनलाई सभ्य र शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकपछि जारी संयुक्त प्रतिबद्धता पत्रमा धादिङ जिल्लामा शान्ति, अमनचयन तथा राजनीतिक र सामाजिक सद्भाव कायम गर्दै सन्तुलित र न्यायपूर्ण विकास, सुशासन र समतामूलक समाज निर्माणका लागि आपसी सहकार्य र समन्वय गर्ने उल्लेख छ । निर्वाचनपछि जुनसुकै दल वा उम्मेदवार निर्वाचित भए पनि जिल्लाको समग्र हितका लागि मिलेर काम गर्ने सहमति पनि गरिएको छ ।
यस्तै, निर्वाचन प्रचारप्रसारका गतिविधिहरुलाई शान्तिपूर्ण, सौहार्दपूर्ण, मैत्रीपूर्ण, मितव्ययी र मर्यादित बनाउने, मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोग गर्ने तथा सबै दल र उम्मेदवारप्रति सम्मान र आदरभाव कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।
निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने विवाद तथा असमझदारीलाई आपसी समन्वय र संवादमार्फत समाधान गर्ने तथा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता(२०८२ पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता पनि दलहरूले गरेका छन् ।
संयुक्त विज्ञप्तिमार्फत सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, आम नागरिक तथा सञ्चारकर्मीहरुलाई निर्वाचनलाई सफल बनाउन सहयोग, निगरानी र खबरदारी गर्न आग्रह गरिएको छ ।
बैठकमा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा ९एमाले० धादिङका कार्यवाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’, नेपाली कम्युनिस्ट पार्टी धादिङका संयोजक मनराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका संगठन सचिव रामहरि रिजाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका अध्यक्ष ध्रुवप्रसाद खनालसहित दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
प्रतिबद्धता पत्रमा दुवै निर्वाचन क्षेत्रका उम्मेदवार र पार्टीका प्रमुखले हस्ताक्षर गरेका छन् ।

क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया