निष्कासनले उल्टो सन्देश : प्रचण्ड कमजोर, गजुरेल–दाहाल बलिया
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट निष्कासन गरेपछि यसको राजनीतिक प्रभाव अपेक्षाभन्दा उल्टो देखिन थालेको छ । पार्टीभित्र मात्र होइन, बाहिरी मतदाता तहमा पनि निष्कासित नेताहरूप्रति सहानुभूति बढ्दै गएको संकेत देखिन्छ ।
हरिबोल गजुरेल र महेश्वर दाहालको सार्वजनिक छवि स्वच्छ, सिद्धान्तनिष्ठ र संघर्षशील नेताका रूपमा स्थापित छ । उनीहरू प्रचण्डको स्वेच्छाचारिता, विकृति, विसंगति र बढ्दो परिवारवादविरुद्ध निरन्तर आवाज उठाउँदै आएका कारण निशानामा परेकाे बुझाइ राजनीतिक वृत्तमा व्यापक छ ।
यसको प्रत्यक्ष प्रभाव याे निरमा देखिन थालेको छल। सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टी जिल्ला कमिटीले ‘बस्ने मुढा’ चिन्हबाट अघि सारेका महेश्वर दाहालप्रति मतदाताबीच सहानुभूति र समर्थन उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ । पार्टी निर्णयबाट अन्यायमा परेका नेताका रूपमा दाहालप्रति मतदाताले व्यक्त गरिरहेको भावनाले चुनावी समीकरणलाई प्रभावित गर्न सक्ने संकेत दिएको छ ।
यस घटनाले प्रचण्डको नेतृत्व शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । आलोचना सहन नसक्ने, फरक मतलाई दण्डित गर्ने र संगठनलाई व्यक्तिकेन्द्रित बनाउने प्रवृत्तिले माओवादी आन्दोलनको वैचारिक जग कमजोर बन्दै गएको विश्लेषकहरूको निष्कर्ष छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो निष्कासनले तत्काल शक्ति प्रदर्शन गरेजस्तो देखिए पनि दीर्घकालमा यसले प्रचण्डलाई नै कमजोर बनाउने सम्भावना बढाएको छ ।
यसअघि पनि सिन्धुलीका स्वच्छ छवि भएका नेताहरू सीपी गजुरेल, ईश्वरीप्रसाद दनहाल, अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष कुमार दाहाललाई अनेकौं प्रपञ्चबाट हटाउँदा पार्टीको नैतिक विश्वसनीयता निरन्तर खस्किएर जनविश्वास क्षयीकरण हुँदै आएकाे छ ।
गजुरेल र दाहालकाे पछिल्लाे निष्कासनको यो निर्णयले नेपाली कम्युनिस्ट पार्टी मात्र होइन समग्र नेपाली कम्युनिस्ट आन्दोलनभित्र नेतृत्वको चरित्र, उत्तरदायित्व र आन्तरिक लोकतन्त्रको प्रश्न देशव्यापी बहसकाे विषय बनाएकाे छ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया