झापा–५ मा महासंग्राम: केपी शर्मा ओली कि बालेन शाह, कसले मार्ला बाजी?
झापा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं. ५ देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बनेको छ। २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि यहाँको प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिको ध्यान तानेको छ।
यस क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। दुवै नेताको उम्मेदवारीलाई राष्ट्रिय नेतृत्वसँग जोडेर हेरिएको छ, जसका कारण झापा–५ को परिणामलाई अर्थपूर्ण मानिएको छ।
झापा–५ मा कुल १ लाख ६३ हजार मतदाता छन्। नेपाली कांग्रेसकी उम्मेदवार मन्दरा चिमरिया, नेकपाका रञ्जित तामाङलगायत २४ जना उम्मेदवार चुनावी मैदानमा छन्। चुनावी चासो र सक्रियता हेर्दा यसपटक करिब ७५ प्रतिशत मतदान हुन सक्ने अनुमान गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ को प्रतिस्पर्धा केवल स्थानीय सीमामा सीमित छैन। यहाँको परिणामले राष्ट्रिय राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ। अहिले उम्मेदवारहरू घरदैलो, कोणसभा र विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय देखिएका छन् भने मतदाता स्थानीय विकास, रोजगारी, पूर्वाधार र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर निर्णय गर्ने तयारीमा छन्।
झापा–५ को नतिजा कसको पक्षमा जान्छ भन्ने टुंगो मतदानपछि मात्र लाग्नेछ, तर अहिलेदेखि नै यो क्षेत्र देशकै सबैभन्दा रोचक चुनावी भिडन्तका रूपमा स्थापित भइसकेको छ।
ओलीको गढ, तर चुनौतीको घण्टी
२०४८ सालदेखि नै यो एमालेको प्रभाव क्षेत्र मानिन्छ । केपी शर्मा ओलीले संविधानसभा पहिलो निर्वाचन बाहेक सबै चुनाव जितेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले करिब ५२ हजारभन्दा बढी मत ल्याएर जित निकालेका थिए । निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मतमा चित्त बुझाउनु परेको थियो । समानुपातिकतर्फ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३५ हजार ८ सय मत प्राप्त गरेको थियो ।
२०७९ को चुनावमा ओलीले राप्रपासँग गठबन्धन गरेका थियो । चार पटक प्रधानमन्त्री भइसकेका ओलीको राजनीतिक अनुभव, संगठन शक्ति र पार्टी संरचना बलियो छ । झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिकाका टोलटोलमा पुगेर उनले मत मागिरहेका छन् । महारानीझोडा क्षेत्रको धनीपुर्जा समस्या, अव्यवस्थित बसोबासीको व्यवस्थापन, सडक र सिँचाइका काम–यी सबै मुद्दामा उनी प्रत्यक्ष संवाद गरिरहेका छन् । उनीमाथि प्रश्न गर्नेहरुको पनि संख्या धेरै हुन थालेको छ । यसअघिका चुनावमा ओली घर दैलो गर्दैनथे । अलि भरिभराउ टोलमा कोण सभासम्म गर्थे ।
अहिले एउटा भनाई चर्चित छ झापामा, ओलीको चुनावी अभियान पहिलाको तुलनामा ठ्याक्कै उल्टो छ । पहिला–पहिला ओली चुनावी अभियानमा झापा ओर्लीएपछि कमैले भेट पाउँथे । उनी हम्मेसी ब्यक्ति भेट्दैनथे । उनीसँग भेटगर्न समय लिनु पर्थो, चुजी थिए उनी । उनी जिल्ला भन्दा बाहिर बढी हुन्थे । तर जमाना उल्टिएको छ । ओली जोसँगनी भेट गर्छन्, समय लिनु पर्दैन । घर दैलो गरेर अन्यत्र चुनाव प्रचारमा जान पनि भ्याएका छैनन् ।
ओलीका प्रतिस्पर्धी बालेन भने पुराना ओली जस्ता भएका छन् । बालेनलाई भेट्न समय लिनु पर्छ, उनी जो कोहीलाई भेट्दैनन् । घर दैलो नगरेर बालेन देशब्यापी ‘रोड शो’मा छन् ।
झापा ५ मा यस पटक समीकरण पनि फरक छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बालेन शाह मैदानमा उत्रिएका छन् । २०७९ मा रास्वपाले समानुपातिकतर्फ झापा–५ मा १८ हजार २ सय मत ल्याएको थियो । अहिले झण्डै १० हजार नयाँ मतदाता थपिएका छन् । विश्लेषकहरू भन्छन् – ‘नयाँ पुस्ताको झुकाव रास्वपातर्फ देखिन्छ । यस अर्थ १० हजार नयाँ थपिएकामा ७ हजार मत रास्वपाको चुनाव चिन्ह घण्टीमा गए कसैले अचम्म मान्नु पर्दैन ।’
हामीले रास्वपाको स्थानीय कार्यालय पुगेर नगर सभापति तथा अभियान संयोजकहरूसँग कुराकानी ग¥यौं । उनीहरूको दाबी छ– ‘कांग्रेस, एमाले र अन्य दलबाट कम्तिमा २० हजार मत ‘ट्रान्सफर’ हुनेछ ।’ उनीहरू गणित प्रस्तुत गर्छन् – कांग्रेसको २३ हजार मतबाट ८ हजार, ओलीको ५२ हजार मतबाट १० हजार र अन्य दलबाट केही हजार मत बालेनले तान्ने पक्का जस्तै भइसकेको छ ।’
यसरी जोडघटाउ गर्दा बालेनले ४० हजारको हाराहारीमा मत ल्याउने अनुमान गरिन्छ । ओलीको मत पनि त्यही हाराहारीमा सीमित हुनसक्ने अड्कल गरिएको छ । अर्थात जुधाई प्रतिस्पर्धात्मक छ ।
स्थलगत रिपोर्टिङका क्रममा हामीले भेटेका मतदातालाई मोटामोटी तीन समूहमा राखेर हेर्दा सजिलैगरी बुझ्न सकियो ।
पहिलो समूह, ‘ओलीलाई कसैले हराउन सक्दैन’
ओली निकट मतदाता भन्छन् – ‘५२ हजार मत ल्याएर जितेका नेता हुन् ओली ।’ भर्सक पहिलाको मत घट्दैन, घटेपनि ४० हजारभन्दा तल जाँदैन । उनीहरू ओलीको राष्ट्रिय छवि, अनुभव र पार्टी संरचनामा भरोसा गर्छन् । उनीहरूका अनुसार, ‘चुनाव जित्न ४० हजार मत नै काफी हुन्छ ।’
दोस्रो समूह भन्छ, ‘कडा प्रतिस्पर्धा हुन्छ’
यो समूह गणनामा विश्वास गर्छ । उनीहरू २०७९ को प्रत्यक्ष र समानुपातिक मत तुलना गर्छन् । ‘एमालेको आधार मत ३५ हजार छ, त्यसबाट केही घट्छ । तर नयाँ मतदाता केही थपिन्छन् । उनीहरू भन्छन् – ‘ओली र बालेनबीच ५ हजारभन्दा बढी अन्तर हुँदैन ।’ ५ हजारभन्दा कम मतान्तरमा परिणाम आउनसक्ने विश्लेषण रहेको उनीको भनाई छ ।
तेस्रो समूहको भनाई, ‘बालेनको जीत सुनिश्चित’
यो वर्ग पुराना दलप्रति आक्रोशित छ । ४ पटक प्रधानमन्त्री हुँदा पनि झापा अरु जिल्लाभन्दा माथि पुग्न नसकेको उनीहरूको बुझाई रहेको छ । केहीले ओलीले भक्तपुरको बालकोटमा बसाइँ सरेपछि ‘झापाली’ भन्ने नैतिकता’ गुमाएको आरोप लगाए । उनीहरू भन्छन् –‘पुरानालाई धेरै पटक हेरियो, अब नयाँलाई एकपटक हेरौं ।’
काठमाडौं महानगरमा बालेनले देखाएको कार्यशैली, अनधिकृत संरचना हटाउने, सुशासनको सन्देश दिने लगायतका प्रभाव नै झापामा पनि परेको देखिन्छ । उनीहरुका अनुसार चुनावमा ओली र बालेनको प्रतिस्पर्धा नै छैन । ओलीले २५ हजार ल्याउँदा बालेनले ५० हजार ल्याएर जित्ने उनीहरुको ठोकुवा छ । हल्ला, लहर र मतदाताले खुलेर घण्टी चुनाव चिन्ह भनेको देख्दा असंभव केही छैन भन्न सकिन्छ ।
कांग्रेसको मौन तर निर्णायक शक्ति
नेपाली कांग्रेस पनि यहाँको शक्तिशाली दल हो । २०७९ मा उसले २३ हजार भन्दा बढी मत ल्याएको थियो । कांग्रेसका धेरै स्थानीय नेताहरु ‘रणनीतिक मौनता’ साँधेर बसेका छन् । आफ्नो दलले नजित्ने देखिएकाले उनीहरुको मत ओली हराउ अभियानमा खस्ने आम अड्कल छ । त्यसो भयो भने बालेन जीतमा यसले राम्रैसँग काम गर्ने छ । तर, कांग्रेसका केन्द्रीय सभापति गगन थापाले राष्ट्रिय रुपमा लहर ल्याउने आम अड्कल अनुसार लहर ल्याउन सकेको खण्डमा भने कांग्रेसले कांग्रेसलाई नै भोट हाल्ने स्थिती बन्न सक्छ । यसो भयो भने बालेन शाहले क्षती ब्यहोर्नु पर्ने छ ।
जित कस्को त ?
बास्तवमा नै एमाले कार्यकर्ताहरुले भने झैं, ओलीले आफ्नो परम्परागत मत जोगाउन सके भने जित सुनिश्चित छ । तर मत जोगाउने चुनौती नै सवैभन्दा ठूलो हो । हजारौं मतदाता खुलेआम रास्वपातर्फ उन्मुख भएको दृश्य सबैका अगाडि छ । बालेनका समर्थकहरू आत्मविश्वासी छन्, तर संगठन संरचना एमालेजस्तो बलियो छैन ।
१ लाख ६३ हजार मतदाता मध्ये ७५ प्रतिसत मत खस्यो भने १ लाख २२ हजार मत खस्ने छ । त्यसमा ७ हजार बदर भयो भने १ लाख १५ हजार सदर मत हुने छ । कांग्रेसले १५ हजार, नेकपा लगायतले २० हजार मत प्राप्त गरेभने बाँकी रहन्छ, ७५ हजार । ओली र बालेनले यही ७५ हजार मत भाग लगाउने स्थिती बन्यो भने माथि भने जस्तो ३५ हजार कटाउनेले चुनाव जित्ने छ । आम अड्कल छ, ५ हजार मत तलमाथि पर्न सक्छ ।
अन्ततः परिणाम मतदाताको अन्तिम निर्णयमा निर्भर हुनेछ । तर एउटा कुरा के स्पष्ट छ भने झापा–५ को चुनाव केवल एउटा क्षेत्रको मात्रै चुनाव होइन । यसको परिणामले राष्ट्रिय राजनीतिलाई नै फरक दिशा दिने छ ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया