कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।
प्रतिज्ञासभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पदाधिकारी एवं केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले एतिहासिक नगरी जनकपुरधाममा हुने कार्यक्रमलाई राजनीतिक रुपमा मात्र नलिएर मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने विशेष अवसरका रुपमा लिएको स्पष्ट गरे ।
प्रवक्ता चालिसेका अनुसार मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ । सोही भूमिबाट आज कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।
कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले आन्दोलनपछिको राजनीतिक यात्राका क्रममा मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात् गरी अघि बढेको कांग्रेसको आज हुने प्रतिज्ञा सभालाई ऐतिहासिक बनाउन समग्र पार्टी पङ्क्ति जुटेको बताए । उनको अनुसार प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट उल्लेख्य जनसहभागित हुने अपेक्षा गरिएको छ ।
प्रदेश सभापति यादवले भने, “कांग्रेसका सभापति थापा स्वयं मधेस प्रदेशअन्तर्गतको सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिएका छन् । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।”
कांग्रेस प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज अपराह्न ४ः०० बजे पत्रकार सम्मेलन गरी प्रतिज्ञापत्रबारे जानकारी गराउने कार्यक्रम रहेको जानकारी दिए ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया