बालेनले ल्याए झापा केन्द्रित बाचापत्र, दमक भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता
काठमाडौं । झापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापा केन्द्रित चुनावी बाचापत्र सार्वजनिक गरेका छन्। फागुन २१ गते हुने निर्वाचनमा केपी शर्मा ओली विरुद्ध प्रतिस्पर्धामा उत्रिएका उनले दमकमा निर्माण भइसकेका तर सञ्चालनमा नआएका आयोजनाहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
बाचापत्रमा दमक सभागृह र भ्युटावरलाई उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइने उल्लेख छ। करोडौं रुपैयाँको लगानीमा बनेको भ्युटावर लामो समयदेखि प्रयोगविहीन रहेको विषयलाई सम्बोधन गर्दै उनले प्रभावकारी व्यवस्थापनमार्फत उपयोगमा ल्याउने बताएका हुन्।
संविधानको परिपालना र कानुनी सुधारलाई पहिलो प्राथमिकतामा राख्दै बालेनले संघीय संसदमा सक्रिय भूमिका खेल्ने जनाएका छन्। आवश्यक कानुन निर्माण, संशोधन र परिमार्जनमार्फत नागरिकमैत्री व्यवस्था स्थापना गर्ने, साथै बेथिति र भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने उनको प्रतिबद्धता छ।
झापा–५ का विकास मुद्दालाई राष्ट्रिय नीति तथा बजेटमा सशक्त रूपमा उठाउने उनले बताएका छन्। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै विकास योजनाको प्रभावकारी अनुगमन गर्ने तथा स्थानीय जनताको आवाज निरन्तर संसदमा पुर्याउने उनले उल्लेख गरेका छन्।
शिक्षा क्षेत्रमा उनले विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने तथा विद्यालय छाड्ने दर शून्यमा झार्ने लक्ष्य लिएका छन्। गौरीगञ्जस्थित त्रिभुवन पुस्तकालयलाई पुनर्निर्माण गरी डिजिटल अध्ययन केन्द्र बनाउने र दमक बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने योजना पनि उनले अघि सारेका छन्।
स्वास्थ्यतर्फ दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने र ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
पूर्वाधार विकासअन्तर्गत विराट बुद्ध पार्क निर्माण सम्पन्न गर्ने, रतुवा र मावा खोलामा तटबन्ध निर्माण गरी डुबान नियन्त्रण गर्ने, कन्काई–रतुवा सिँचाइ योजना विस्तार गर्ने तथा दमकलाई पूर्वी नेपालको आईटी हबका रूपमा विकास गर्ने लक्ष्य बाचापत्रमा समेटिएको छ।
त्यसैगरी गौरादह कृषि भण्डारण केन्द्र स्थापना, गौरादह कृषि क्याम्पसलाई अनुसन्धान हबका रूपमा विकास, गौरीगञ्ज भन्सारलाई व्यवस्थित सञ्चालन र दमक गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजनासमेत अघि सारिएको छ।
राजनीतिलाई पेशा होइन सेवा बनाउने प्रतिबद्धता दोहोर्याउँदै बालेनले मतदाताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने दाबी गरेका छन्। उनले झापा–५ को विकासलाई केन्द्रमा राखेर संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
१. विराट बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याइनेछ
२. दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।
३. रतुवा खोला, मावा खोला, तथा सहायक सोला, सहरेको तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गरिनेछ ।
४. दमकलाई पूर्वी नेपालको “आइ. टी. हव’ को रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गरिनेछ ।
५. कन्काई–रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट सिँचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाइनेछ ।
६. प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागु गरिनेछ ।
७. कोल्ड स्टोर तथा ड्रायर एकै स्थानमा रहने गरि “गौरादह कृषि भण्डारण केन्द्र“ को स्थापना गरिनेछ ।
८. गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान हवका रुपमा विकास गरिनेछ ।
९. गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइनेछ ।
१०. दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गरिनेछ ।
११. दमक गोल्डकपलाई व्यवसायिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी झापा–५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पुन्याइनेछ ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया