Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल विजयी


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी २७ हजार ७ सय ११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याएका छन् । राप्रपाका उद्धवराज भेटुवालले २९० मत र नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा पाए।

शिशिर खनाल दोस्रो पटक यही क्षेत्रबाट निर्वाचित भएका हुन् । विघटित प्रतिनिधिसभामा शालीन नेताका रूपमा चिनिएका शिशिर दोस्रो पटक जनअनुमोदित भएका हुन् ।

४७ वर्षीय खनालको स्थायी ठेगाना काठमाडौं, टोखा हो । राजनीतिमा आउनुअघि उनले सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा काम गरेका थिए ।

सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियानमार्फत उनले सामुदायिक विकास र स्वयंसेवी अभियानमा काम गरे ।

सन् २०१२ देखि २०१९ सम्म टिच फर नेपाल कार्यक्रममा आबद्ध भएर सामुदायिक शिक्षामा योगदान दिए । नीतिगत अभ्यासमा खनालले २०२३ देखि २०२५ सम्म दाङको तुलसीपुर उपमहानगरपालिकामा सञ्चालन गरिएको नीतिशाला कार्यक्रमसँग जोडिएर काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।

उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए ।

यही पृष्ठभूमिमा उनी २०७९ को निर्वाचनमा उम्मेदवार बनेका थिए । त्यसबेला उनी १४ हजार २२१ मत प्राप्त गर्दै विजयी भएका थिए ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट