Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

प्रतिनिधिसभा मतगणना : नेकपाको २ जित, १० क्षेत्रमा अग्रता


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीले दुई निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने अन्य १० क्षेत्रमा अग्रता कायम गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता महेन्द्रबहादुर शाही आ-आफ्नो क्षेत्रबाट निर्वाचित भएका छन् ।

रुकुम पूर्वबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । उनले १० हजार २४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत मात्र पाएका छन् ।

यस्तै, कालीकोटमा महेन्द्रबहादुर शाही ११ हजार ३३७ मतका साथ विजयी भएका छन् । उनले नेकपा एमालेका नगेन्द्र शाहीलाई पराजित गरे, जसले १० हजार ३५२ मत प्राप्त गरेका थिए।

सिन्धुली–२ मा लेखनाथ दाहाल (राजन्) १२ हजार ७९५ मतका साथ निकै अगाडि छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेलले ८ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् । काभ्रे–१ मा दीननाथ गौतम ९ हजार ३६७ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका गुणराज मुक्तान (७,५२६ मत) ले पछ्याइरहेका छन् ।

रोल्पा–१ मा वर्षमान पुन ८ हजार २१३ मतका साथ अगाडि छन् । यस्तै, सल्यान–१ मा रमेशकुमार मल्ल ८ हजार ५७० मतसहित अग्रता लिइरहेका छन् । मल्ललाई रास्वपाका ललितकुमार चन्दले ६ हजार ४५८ मतका साथ पछ्याउँदै छन् ।

यसैगरी रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मालाई पछि पार्दै नेकपाका गोपाल शर्मा ७ हजार २७२ मतका साथ अगाडि छन् । अछाम–१ मा भीमबहादुर रावलले ५ हजार ५६९ मतका साथ अग्रता हासिल गर्दा सिन्धुपाल्चोक–२ मा ३ हजार ९८९ मतसहित युवराज दुलाल, रामेछापमा श्यामकुमार श्रेष्ठ २ हजार ४६६ मतसहित अगाडि छन् ।

डोल्पा र हुम्लामा नेकपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले अग्रता लिएका छन् । डोल्पा–१ मा धनबहादुर बुढा २ हजार ९४ मतका साथ अगाडि छन् भने उनका प्रतिद्वन्द्वीले मात्र ४२७ मत पाएका छन् । हुम्लामा दीपेन्द्र रोकाया १ हजार २७१ मतका साथ अग्रतामा छन्, जहाँ उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जयपति रोकायाको ४१६ मत रहेको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट