प्रतिनिधिसभा चुनाव : निर्वाचित १४ महिलामध्ये १३ जना रास्वपाका
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ अहिलेसम्म १४ जना महिला उम्मेदवार निर्वाचित भएका छन् । तीमध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका छन् भने एक जना नेपाली कांग्रेसबाट विजयी भएका छन् ।
रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा १६ जना महिला उम्मेदवार उठाएकामा १३ जना विजयी भएका हुन् । जुम्लामा रास्वपाकी बिनिता कठायत राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीसँग पराजित भइन् भने सुनसरी–१ मा सरिन तामाङ श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईसँग पराजित भइन् । हुम्लाबाट उम्मेदवार बनेकी टासी ल्हान्जोम भने चौथो स्थानमा सीमित भइन् ।
रास्वपाबाट काठमाडौं–१ मा रञ्जु दर्शना, ललितपुर–३ मा तोसिमा कार्की, चितवन–३ मा सोविता गौतम, मोरङ–६ मा रुबिना आचार्य, कास्की–३ मा बिना गुरुङ, कैलाली–१ मा कोमल ज्ञवाली, मोरङ–५ मा आशा झा, सर्लाही–१ मा नितिमा भण्डारी कार्की, झापा–१ मा निशा डाँगी र झापा–२ मा प्रतिनिधिसभाकी पूर्वउपसभामुख इन्दिरा राना मगर निर्वाचित भएका छन् ।
यस्तै धादिङ–१ बाट आशिका तामाङ, सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी र महोत्तरी–४ बाट गौरी कुमारी पनि रास्वपाबाटै विजयी भएका छन् ।
यता प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट भने महिलातर्फ दैलेख–१ की बासना थापा मात्र विजयी भएकी छन् । नेकपा एमाले, नेकपा लगायत अन्य दलबाट भने प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवार निर्वाचित भएका छैनन् ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया