Techie IT
Samayabaddha
बुधबार, २७ फागुन, २०८२

डा. रक्षकुमार राईले सार्वजनिक गरे चुनावी खर्च, ४० हजार ७४० रुपैयाँ मात्रै


काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रक्षकुमार राई ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। मितेरी पार्टी नेपालका तर्फबाट उम्मेदवारी दिएका उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनाव प्रचारका क्रममा जम्मा ४० हजार ७४० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

उक्त विवरणमा पेट्रोल, विभिन्न परिकारका चाउमिन र मःम, साथै पेय पदार्थमा खर्च गरिएको देखाइएको छ। विवरणअनुसार उनले ५० लिटर पेट्रोल, १० प्लेट चिकेन चाउमिन, १२ प्लेट पोर्क झोल मःम, २० प्लेट चिकेन स्टिम मःम तथा ६ प्लेट पोर्क बारबिक्यूमा खर्च गरेका छन्।

त्यस्तै पेय पदार्थतर्फ ५ बोतल कोक, १५ बोतल ‘एक्सट्रिम’, १० बोतल बदाम जुस र १० बोतल पानीको खर्च उल्लेख गरिएको छ।

खाजाबाहेक उनले १०० छाक सादा खानामा १५ हजार रुपैयाँ खर्च गरेको तथा ५० लिटर पेट्रोलका लागि ८ हजार २५० रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

३९ वर्षीय रक्षकुमार राई ले उक्त निर्वाचनमा १७ मत प्राप्त गरेका थिए। सोही क्षेत्रबाट हर्क साम्पाङ (श्रम संस्कृति पार्टी) ३५ हजार ७४१ मतसहित विजयी भएका थिए।

डा. राईले भड्किलो प्रचारप्रसार नगरेको उल्लेख गर्दै त्यसबाट बचत भएको रकम युवा रोजगारी सिर्जनामा लगाउने योजना रहेको बताएका छन्। निर्वाचन आयोगमा पेस गरिएको फारमको नोटमा उनले अनावश्यक भौतिक प्रचार सामग्रीको खर्च कटौती गरेर बचत भएको रकम युवालाई रोजगारी दिलाउन प्रयोग गर्ने उल्लेख गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट