६ दलले पाए राष्ट्रिय दलको मान्यता, श्रम संस्कृति पार्टी नयाँ प्रवेशकर्ता
काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । राष्ट्रिय दलको मान्यता पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेको छ ।
यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ । यो हर्क साम्पाङ नेतृत्वको पार्टी हो । यो पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यता सम्बन्धी व्यवस्था छ । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।
निर्वाचन अयाोगको मतपरिणाम अनुसार एक करोड पाँच लाखभन्दा बढी मतगणना हुँदा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा (एमाले) ले १४ लाखभन्दा बढी मत प्राप्त गरेको छ । नेकपाले साढे सात लाखभन्दा बढी मत प्राप्त गरेको छ ।
श्रम संस्कृतिले साढे तीन लाखभन्दा बढी मत प्राप्त गरेको छ । यसैगरी, राप्रपाले तीन लाख २७ हजार मत प्राप्त गरेको छ ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया