रास्वपाको सांसद अभिमुखीकरण आज समापन हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सांसद अभिमुखीकरण आज पनि जारी छ ।
ललितपुरमा जारी दुईदिने अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ । उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह दुवै अनुपस्थित रहे पनि समापन सत्रमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ । उनी पूर्ण रूपमा स्वस्थ भने भइसकेका छैनन् ।
तर, वरिष्ठ नेता बालेन भने कार्यक्रममा सहभागी नहुने जनाइएको छ । अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन बुधबार योग–ध्यान कक्षासँगै विहानैबाट सुरु भएको छ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदहरू सहभागी कार्यक्रममा संसदीय अभ्यास, विधायन प्रक्रिया, नीति निर्माण, बजेट प्रणाली तथा जनप्रतिनिधिको भूमिकाबारे प्रशिक्षण दिइँदैछ ।
आजको कार्यसूचीअनुसार पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया तथा योजना–बजेट निर्माणबारे प्रशिक्षण दिएका छन् भने अर्का पूर्वसचिव प्रताप कुमार पाठकले सुशासनको अवधारणा र अभ्यासबारे प्रस्तुति राख्ने कार्यक्रम छ। त्यसपछि पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले सांसदको भूमिका, आचारसंहिता र न्यूनतम प्रतिबद्धताबारे धारणा प्रस्तुत गर्नेछन् ।
सांसदहरूलाई समूहगत छलफलमार्फत एजेण्डा प्राथमिकता निर्धारण गराइने कार्यक्रम रहेको छ । समापन सत्रमा प्रतिभा रावल र मनिष झाले उक्त विषयमा सहजीकरण गर्नेछन् भने सहभागीका तर्फबाट प्रशान्त उप्रेती र खिमा विकले धन्यवाद मन्तव्य राख्नेछन् ।
अन्त्यमा सभापति लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो १ बजेको खाजासँगै अभिमुखीकरण कार्यक्रम सम्पन्न हुने कार्यतालिका रहेको छ ।
तर वरिष्ठ नेता शाह भने सरकार गठनको तयारीमा लागेकाले व्यस्त बन्दा कार्यक्रममा सहभागी नहुने बताइएको छ । प्रस्तावित प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् गठनका लागि आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।
निकट स्रोतका अनुसार शाहले सरकारको आकार सानो राख्ने र विज्ञताका आधारमा मन्त्री चयन गर्ने रणनीति अघि सारेका छन् । आगामी हप्ता–दस दिनभित्रै नयाँ सरकार गठन गर्ने गरी गृहकार्य भइरहेको जनाइएको छ । यसक्रममा उनले पार्टी सभापति रवि लामिछानेसँग समेत प्रारम्भिक छलफल गरिसकेका छन् भने आफ्नो टीमभित्र नियमित परामर्श जारी राखेका छन् ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया