गगनको राजीनामाले निम्त्याएको नयाँ बहस
काठमाडौं । फागुन २१ को निर्वाचनमा कांग्रेस सभापति गगन थापाको हारले कांग्रेसभित्र बहसको विषय बनेको छ । हारभन्दा पनि उनले राजीनामा दिएको विषय अहिले चर्चामा छ । भनिन्छ, नेपाली राजनीतिमा नैतिकताको खडेरी छ । यहाँ पुराना दलहरु नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको लज्जाजनक हार भएको छ तर कतै पनि राजीनामाको चर्चा छैन । ती पार्टीका नेतृत्वका वरिपरिका केही कार्यकर्ताले यो हारको कारण नेतृत्वमा नभै अन्त कतै खोज्ने प्रयास गरेको देखिन्छ । उनीहरु अझै नेतृत्वको ढाकछोप र गुणगान गाइरहेका छन् । तर राजनीतिक विश्लेषकहरुले भने अब नेपालको कम्युनिस्ट आन्दोलन एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको नेतृत्वमा अगाडि जान नसक्ने बताएका छन् ।
गगनले राजीनामा दिनु पर्छ कि पर्दैन त्यो सम्बन्धित पार्टीको निर्णयको विषय हो । प्रश्न केवल राजीनामा किन ? भन्ने होइन, यसले पार्टी र लोकतान्त्रिक अभ्यासमा के प्रभाव पार्छ ? भन्ने हो । विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका थापाको कदमलाई हारको प्रतिक्रिया मात्र भनेर बुझ्नु सतही हुन्छ, यसलाई जिम्मेवार नेतृत्वको रुपमा हेरिनु न्यायसम्मत र उचित हुनेछ ।
पहिलो दृष्टिमा, राजीनामा नैतिक जिम्मेवारीको विषय जस्तो देखिन्छ । चुनावी पराजयले नेतृत्वको रणनीति, संगठन क्षमता र जनविश्वासमाथि प्रश्न उठाएको हुन्छ । यस्तो अवस्थामा पदमा टाँसिएर बस्नु भन्दा जिम्मेवारी स्वीकार गर्नु परिपक्व राजनीतिक संस्कार मानिन्छ । यसले नेतृत्व जनताप्रति उत्तरदायी छ भन्ने सन्देश दिन्छ । तर, यहीँ एउटा जटिल प्रश्न उठ्छ—के यो कदमले वास्तविक सुधारको ढोका खोल्छ, वा केवल प्रतीकात्मक नैतिकता प्रदर्शनमा सीमित रहन्छ ?
अर्कोतर्फ, नेपाली कांग्रेसको सन्दर्भमा यो निर्णय झन् संवेदनशील छ । विशेष महाधिवेशनले दिएको म्याण्डेट केवल नेतृत्व परिवर्तन मात्र होइन, पार्टीलाई नियमित प्रक्रियामा फर्काउने उद्देश्य थियो । यस्तो अवस्थामा नेतृत्वले अधूरो जिम्मेवारी छोडेर बाहिरिने हो भने त्यसले संस्थागत स्थायित्वमा असर पार्न सक्छ भन्नेहरुको मत पनि कांग्रेस भित्र बलियो छ । गगन थापा निर्वाचनको मनोमनयन शुरु हुनुभन्दा दुई दिन अघि मात्र नेतृत्वमा आएका थिए । कांग्रेसको नतिजाको लागि उनी जिम्मेवार हुँदै होइनन् । तर उनले देखाएको राजीनामाले नेपाली राजनीतिमा एउटा महत्वपूर्ण नजिर स्थापित गरेको छ ।
पछिल्लो समय नेपाली राजनीति नेताहरुको पदप्रतिको मोह, हारपछि पनि जिम्मेवारी नलिने र नेतृत्वमा टाँसिरहने प्रवृत्तिको कारणले दुषित र आलोच्य बनिरहेको छ । यस्तो अवस्थामा राजीनामाले नयाँ राजनीतिक संस्कृति स्थापना गर्ने संकेत दिन सक्छ । तर यो सन्देश त्यतिबेलामात्र प्रभावकारी हुन्छ, जब त्यसपछि पार्टीमा संरचनागत सुधार, पारदर्शिता र नयाँ नेतृत्वको उदय सुनिश्चित हुन्छ । अन्यथा, यो केवल क्षणिक लोकप्रियता हासिल गर्ने कदममै रुपमा सीमित रहन्छ ।
चुनावको परिणाले कांग्रेसलाई प्रमुख प्रतिपक्षको जिम्मेवारी दिएको छ । यस्तो अवस्थामा नेतृत्व परिवर्तनले प्रतिपक्ष कमजोर हुने खतरा रहन्छ भन्नेहरु पनि कांग्रेसभित्र जर्बजस्त उठिरहेको छ, जुन कुरा जायज पनि हुनसक्ला । अनुभवी नेतृत्व हटेपछि नीति बहस, सरकारमाथिको निगरानी र वैकल्पिक कार्यक्रम प्रस्तुत गर्ने क्षमता प्रभावित हुन सक्छ । त्यसैले राजीनामा पार्टीभित्र ऊर्जा ल्याउने कि अस्थिरता बढाउने भन्ने कुरा त्यसपछिका कदमले निर्धारण गर्छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको पार्टीभित्रको शक्ति सन्तुलन हो । राजीनामाले दबिएको असन्तुष्टि बाहिर ल्याउने, नयाँ गठबन्धन निर्माण गर्ने र नेतृत्व प्रतिस्पर्धा खुला गर्ने अवसर दिन्छ । तर यही प्रक्रिया सही ढंगले व्यवस्थापन हुन नसके आन्तरिक गुटबन्दी झन् चर्किन सक्छ । त्यसैले राजीनामापछि सबैभन्दा महत्वपूर्ण कुरा संस्थागत संवाद, स्पष्ट रोडम्यापको जरुरी देखिन्छ ।
अन्ततः प्रश्न यहीँ आएर टुंगिन्छ—के गगन थापाको राजीनामाले कांग्रेसलाई फाइदा गर्छ ? यसको उत्तर सीधा छैन । यदि यो कदमले पार्टीभित्र आत्मसमीक्षा, नयाँ नेतृत्वको उदय, पारदर्शी प्रक्रिया र बलियो प्रतिपक्ष निर्माणमा सहयोग गर्छ भने यसले दीर्घकालीन फाइदा दिन सक्छ । तर यदि यो केवल प्रतीकात्मक कदममै सीमित रह्यो र संरचनागत सुधार भएन भने, यसले अस्थिरता मात्र बढाउनेछ र आगामी दिनमा कांग्रेसलाई झन् कमजोर बनाउनेछ ।
त्यसैले गगन थापाको राजीनामाको मूल्यांकन आज होइन, भोलिका कदमले गर्नेछ । लोकतन्त्रमा जिम्मेवारी लिनु महत्वपूर्ण हुन्छ, तर त्यो जिम्मेवारीलाई परिणाममा रूपान्तरण गर्नु अझ ठूलो चुनौती हो । कांग्रेसले यो अवसरलाई संकट होइन, सुधारको मोडमा बदल्न सक्छ कि सक्दैन—त्यही नै आगामी राजनीतिक दिशाको निर्णायक आधार बन्नेछ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया