विघटनको संघारमा वामशक्ति
काठमाडौं । नेपालको वाम राजनीतिक धार अहिले गम्भीर वैचारिक, संगठनात्मक र मनोवैज्ञानिक संकटको चरणमा प्रवेश गरेको छ । ऐतिहासिक रूपमा वर्गसंघर्ष, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको मुद्दा बोकेको वाम आन्दोलन, पछिल्लो समय व्यावहारिक राजनीतिमा ती आदर्शहरूसँग मेल खान नसक्दा जनविश्वास गुमाउँदै गएको छ ।
वाम शक्तिको अहिलेको असामञ्जस्य चुनावी परिणामले मात्र खुम्चिएको होइन, यो नेतृत्वको चरित्र, कार्यशैली र वैचारिक विचलनसँग जोडिएको छ । नेतृत्व तहमा देखिएको स्वेच्छाचारिता, भ्रष्टाचार र वर्गीय आधारबाट विचलनले संगठनभित्रै असन्तोष बढाएको छ । एक समय ‘जनताको मुक्तिका लागि’ संघर्ष गर्ने नेतृत्व अहिले सत्ताकेन्द्रित राजनीतिमा सीमित देखिनु संकटको मूल कारण हो ।
राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना जस्तो ऐतिहासिक परिवर्तनको अगुवाइ गर्ने नेताहरू नै अहिले आफ्नै पार्टीभित्र ‘नयाँ राजाहरू’ जस्तै बने । निर्णय प्रक्रियामा केन्द्रीकरण, आलोचनालाई अस्वीकार गर्ने प्रवृत्ति र संगठनलाई व्यक्तिगत प्रभावमा चलाउने शैलीले वाम दलहरूभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनाएको छ । यसले पार्टीभित्रका अधिकांश इमानदार कार्यकर्ता, नेताहरूलाई निरुत्साहित बनाएको छ ।
सत्तामा टिकिरहने रणनीतिले पनि वाम शक्तिको विश्वसनीयता कमजोर बनाएको छ । विचार र नीतिभन्दा सत्ता प्राथमिकतामा पर्दा जुनसुकै शक्तिसँग पनि सहकार्य गर्ने प्रवृत्ति बढेको थियो । यसले वाम राजनीति पूरै संसदवादमा फस्यो । संसद बाहिर रहेकाहरूको त झन् अस्तित्व नै देखिएको छैन् ।
एकातिर क्रान्तिकारी भाष्य, अर्कोतिर संसदीय व्यवस्थामा चुर्लुम्म डुब्ने व्यवहारको द्वन्द्वले वाम आन्दोलनको विश्वसनीयता नै प्रश्न चिन्ह खडा भएको थियो । यसमा पछिल्लो समय विश्वास गरिएको माओवादीका शीर्ष नेतृत्व सर्वाधिक अविश्वसनीय बने । यसको शीर्ष नेतृत्व कहिले एमाले र कहिले काँग्रेससँग सहकार्य गरेर चरम सत्तालिप्सामा फस्यो । अहिले पनि रास्वपासँग सत्ता साझेदारीका लागि हारगुहार गरिरहेको छ । खासगरी यसको उद्देश्य भनेको विगतमा गरेको सुशासन विरोधी कार्यका कारण हुने कार्वाहीबाट बच्न र संवैधानिक लगायत सत्तामा भागबण्डा गर्न नै हो ।
राष्ट्रियताको सवालमा पनि वाम शक्तिको भूमिकामाथि प्रश्न उठ्ने गरेको छ । चर्को राष्ट्रवादी भाषण गर्ने तर निर्णायक क्षणमा सम्झौतामा झुक्ने प्रवृत्तिले उनीहरूको स्थायित्व र नीतिगत स्पष्टता कमजोर देखाएको छ । महाकाली सन्धिदेखि एमसीसीबारेको सम्झौताहरूमा प्रारम्भमा देखिएको द्वैध व्यवहार र पछि लम्पसारमा पर्ने नेतृत्वप्रति जनस्तरमा शंका छ ।
वाम एकता र मोर्चा निर्माणको सवाल पनि चुनौतीपूर्ण बनेको छ । वैचारिक स्पष्टता र आपसी विश्वासको अभावमा वाम दलहरूबीचको एकता बाह्य दबाब वा परिस्थितिजन्य आवश्यकतामा मात्र सीमित हुने गरेको छ । दीर्घकालीन रणनीति र साझा दृष्टिकोण अभावमा बनेका गठबन्धनहरू टिकाउ हुन सकेका छैनन् ।
संगठनभित्रको आन्तरिक व्यवस्थापन पनि अर्को गम्भीर समस्या हो । योग्यता, इमानदारी र संघर्षको मूल्यभन्दा पैसा, पहुँच र चाप्लुसीलाई प्राथमिकता दिइने प्रवृत्तिले पार्टी संयन्त्रलाई कमजोर बनाएको छ । यसले नेतृत्व चयनदेखि नीति निर्माणसम्म नकारात्मक प्रभाव पारेको छ । परिणामतः जनतासँगको सम्बन्ध कमजोर बन्दै गएको प्रमाणित भएको छ ।
सारमा, वाम शक्तिको अहिलेको संकट वैचारिक अस्पष्टता, नेतृत्वको पतन, संगठनात्मक कमजोरी र जनअपेक्षाको सम्बोधन गर्न नसक्नु यसको मुख्य पक्ष हुन् । यदि वाम दलहरूले आफ्नो ऐतिहासिक भूमिका पुनः स्थापित गर्न चाहन्छन् भने आत्मसमीक्षा, वैचारिक स्पष्टता र संगठनात्मक सुधार अपरिहार्य देखिन्छ । खासगरी शीर्ष नेतृत्वको विदाइ तत्काल अनिवार्य छ । अन्यथा, वाम पार्टी र आन्दोलन विघटनमा पर्ने खतरा छ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया