Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता उद्घाटन


काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले  “१०औं संस्करण पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता-२०२५” को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।

उद्घाटन समारोहमा नेपाल राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य, पूर्व उपप्रधानमन्त्री सीपी मैनाली, नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे, डेनमार्कका लागि पूर्व नेपाली राजदूत युवनाथ लम्साल, नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा. मञ्जु रत्न शाक्य तथा ग्लोबल आइएमई बैंक लिमिटेडका उप-प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत विभिन्न क्षेत्रमा सक्रिय  व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुवर्ण श्रेष्ठले हरेक वर्ष यो प्रतियोगिता सफलतापूर्वक आयोजना गरिरहेकोमा पाकिस्तान दूतावासको प्रशंसा गरिन् । उनले खेल, विशेषगरी क्रिकेट, नेपाल र पाकिस्तानका युवाहरूलाई एकसाथ ल्याउने एउटा महत्वपूर्ण माध्यम भएको बताइन् ।

सो अवसरमा पाकिस्तानका राजदूत अबरार एच. हाशमीले क्रिकेट खेल मात्र नभई मित्रता, सहकार्य र एकताको भावनालाई प्रबर्द्धन गर्ने माध्यम भएको उल्लेख गरे । उनले सहभागी टिमहरूलाई शुभकामना दिँदै प्रतियोगिताका आयोजकहरूप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रमकै अवसरमा राजदूत हाशमीले नेपाल-पाकिस्तान युवा परिषद्को उद्घाटन गरेका थिए । साथै, हालै काठमाडौंमा सम्पन्न एसियन शूटिङ बल च्याम्पियनसिप मा उपविजेता बनेको पाकिस्तान शूटिङ बल टोलीलाई स्वागत गर्दै बधाई दिएका थिए ।

यस वर्षको प्रतियोगितामा १२ वटा क्लब-स्तरीय क्रिकेट टिमहरू सहभागी छन् । नौ दिनसम्म चल्ने यो प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोह आगामी फेब्रुअरी १६ (फागुन ४) मा हुनेछ । प्रतियोगिता एक्सन स्पोर्ट्स टेलिभिजन च्यानल र सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिनेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट