साफ यू–१९ च्याम्पियनशिप : सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोल्डेन जुब्ली स्टेडियममा आज भएको पहिलो सेमिफाइनलमा नेपाल २–१ गोलले पराजित हुँदै बाहिरियो । बङ्गलादेश फाइनलमा पुगेको छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । बङ्गलादेशले दोस्रो हाफको १० मिनेटभित्र दुई गोल गर्यो । बङ्गलादेशले खेलको ७३औ र ८१औं मिनेटमा गोल गरेको हो । नेपालले खेलको ८७औं मिनेटमा एक गोल फर्कायो ।
नेपाल समूह ‘बी’ को उपविजेता र बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपालले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएको थियो । यस्तै बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दा दोस्रो खेलमा भूटानलाई हराएको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आजै राति पौने ८ बजे समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता माल्दिभ्स खेल्दैछन् । बङ्गलादेशले यो खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया