इटालीविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
काठमाडौं । आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज इटालीविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा इटालीले टस जितेर बलिङ रोजेको छ । योसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।
आज ब्याटिङ गर्ने नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । जसमा शेर मल्लको स्थानमा ललित राजवंशीलाई अवसर दिइएको छ । विश्वकपमा नेपाल र इटालीले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन् ।
पहिलो खेलमा नेपाल इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् । विश्वकपको समूह सी मा रहेका नेपाल र इटली मात्र अङ्कविहीन रहेका हुन् ।
यस समूहमा चार अङ्कका साथ वेस्ट इण्डिज शीर्ष तथा समान दुई अङ्क भएका स्कटल्याण्ड र इङ्ग्ल्याण्ड क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । सुपर आठको सम्भावना कायमै राख्न दुवै टोलीका लागि यस खेलमा जित महत्वपुर्ण मानिएको छ ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् । त्यस्तै इटालीको प्लेइङ ११ मा एन्थोनी मोस्का, जस्टिन मोस्का, जे जे स्मट्स, ह्यारी मानेन्टी, बेन्जामिन मानेन्टी, मार्कस क्याम्पोपियानो, ग्रान्ट स्टुवर्ट, जियान–पिएरो मीड, जसप्रीत सिंह, क्रिशान कालुगामागे र अली हसन छन् ।
क्याटेगोरी : खेलकुद



















प्रतिक्रिया