Techie IT
Samayabaddha
बिहीबार, २८ फागुन, २०८२

टी–२० विश्वकप २०२६: नेपालले २.५६ लाख डलर पुरस्कार पायो, भारतलाई सबैभन्दा बढी


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ सकिएपछि टिमहरूका लागि छुट्याइएको पुरस्कार रकम सार्वजनिक गरेको छ।

प्रतियोगितामा सहभागि टिमहरूलाई कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकम वितरण गरिएको आईसीसीले जनाएको छ।

हरेक सहभागी टोलीले सहभागिताबापत १ लाख १२ हजार ५०० अमेरिकी डलर पाउनेछन् भने अन्तिम पोजिसनका लागि छुट्टै पुरस्कार रकम तोकिएको छ । हरेक जितका लागि ३१ हजार १५४ डलर पनि छुट्याइएको छ ।

नेपाली क्रिकेट टोलीले भने सहभागिता, अन्तिम पोजिसन र एक खेल जितेबापतको गरेर कुल २ लाख ५६ हजार १५४ अमेरिकी डलर पुरस्कार रकम पाएको छ ।

प्रतियोगिताको उपाधि जितेको भारतले २६ लाख ३९ हजार ४२३ डलर पाएको छ। उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६९२ डलर प्राप्त गरेको छ।

तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५७७ डलर पाएको छ भने चौथो स्थानको इङ्ग्ल्यान्डले ९ लाख ७४ हजार ४२३ डलर प्राप्त गरेको छ।

यसैगरी सुपर ८ बाट बाहिरिएको वेस्ट इन्डिजले ५ लाख ३८ हजार २६९ डलर, पाकिस्तानले ५ लाख २२ हजार ६९२ डलर, जिम्बाबेले ४ लाख ९१ हजार ५३८ डलर र श्रीलंकाले ४ लाख ७५ हजार ९६२ डलर पाएका छन्।

समूह चरणबाट बाहिरिएका अफगानिस्तान, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिका ले समान ३ लाख ९ हजार ८०८ डलर प्राप्त गरेका छन्।

स्कटल्यान्डले २ लाख ७८ हजार ६५४ डलर तथा आयरल्यान्ड ले २ लाख ७१ हजार ७३१ डलर पाएका छन्।

यसैगरी इटाली, नेदरल्यान्ड्स, यूएई र नेपालले समान २ लाख ५६ हजार १५४ डलर पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै क्यानडा, नामिबिया र ओमानले समान २ लाख २५ हजार डलर प्राप्त गरेका छन्।


क्याटेगोरी : खेलकुद


प्रतिक्रिया


ताजा अपडेट