लेनिन, उनको संघर्षपूर्ण जीवनकाल र अक्टुवर क्रान्ति
नारायण गिरी
भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिस्र्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो । उनको बाल्यकालको नाम व्लादिमिर इलिच उल्यानोभ थियो । उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए । उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए । लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभ कलिलै उमेरमा गरिबीको शिकार भएका थिए तर जेठो दाजुको सहयोग, आफ्नै कठिन परिश्रम र असाधरण प्रतिभाको फलस्वरूप मात्र उनले उच्च शिक्षा हासिल गर्न सकेका थिए । लेनिनकी आमा एक डाक्टरकी छोरी थिइन् । यसकारण लेनिनका माता–पिता शिक्षित रूसी नागरिक थिए । उनका बुबा सम्राटको शिक्षा विभागका प्रमुख निर्देशक थिए ।
लेनिनकी आमा मारिया एलेक जान्ड्रोब्ना, एक उच्च बौद्धिक महिला थिइन्, जसले आफ्ना बच्चाहरूको पालनपोषण र शिक्षाको पूर्ण हेरचाह गरिन् । लेनिनका एलेक्जेन्डर युलियानोभ नामका जेठा दाजु र अन्य बहिनीहरू पनि थिए । उनीहरु आन्ना, अलेक्जेण्डर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । यिनीहरू सबै ज्ञान प्रेमी थिए । उनीहरूको सँगै पढ्ने र लेख्ने चलन थियो । पाँच वर्षकै उमेरमा लेनिनले लेखपढ गर्न सिकिसकेका थिए । उनी एक असाधारण प्रतिभाशाली विद्यार्थी थिए र कक्षामा सधैँ प्रथम हुन्थे । विद्यालयमा पढ्दा नै उनले समाजमा पाइने क्रान्तिकारी किताबतर्फ आफ्नो दृष्टि दौडाएका थिए । सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रोसभ, साल्तिकोभ सेद्रिन र टोल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारीहरूका कृतिहरू पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी चेर्निसेभ्स्कीको ‘के गर्ने ?’ नामको उपन्यासले उनलाई धेरै प्रभावित पारेको थियो । यसरी स्कूले जीवनमा नै लेनिनले किताबी र बाहिरी सामाजिक क्रान्तिकारी ज्ञान हासिल गरिसकेका थिए ।
लेनिनको दृष्टिकोणमाथि उनको परिवार, वरिपरिको जीवन र प्रगतिशील रूसी साहित्यको निकै ठूलो प्रभाव पारेको थियो । त्यसबेला त्यहाँ तीव्र रूपमा पूँजीवादी व्यवस्थाको विकास हुँदै गइरहेको थियो । पूँजीवादी शोषणका साथसाथै सामन्ती उत्पीडन पनि कायम थियो र त्यो शोषणले मदजूर–किसानहरूको जीवन अत्यन्तै कष्टप्रद बनाएको थियो । जार शासनको शोषण, अत्याचार तथा जमिनदार र पूँजीपतिहरुको दमनबाट सिर्जित मजदूर–किसानहरूको दयनीय अवस्थाले लेनिनको हृदयमा शोषकहरूप्रति कठोर घृणा र शोषितहरूप्रति सहानुभूति पैदा गरेको थियो । विश्वविद्यालय अध्ययनकै क्रममा लेनिनले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोण राख्ने विद्यार्थीहरूसँग सम्बन्ध कायम गर्न थालेका थिए ।
सन् १८८६ मा लेनिनका पिताको अकस्मात निधन भयो । परिवारले यो पीडा बिर्सन नपाउँदै मार्च १८८७ मा उनका दाजु अलेक्जेन्डर पिटर्सवर्गमा गिरफ्तार भए । उनलाई तत्कालीन रूसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षडयन्त्रमा संलग्न भएको आरोपमा त्यसै वर्षको मे महिनामा स्लिसेल्बर्ग किल्लामा फाँसी दिइयो । अलेक्जेन्डर युलियानोभ आफै पनि दिनरात अध्ययन गर्दथे र आफ्ना भाइबहिनीहरूलाई पनि पढाउँथे । तर उनी सम्राट जारको हत्या गर्ने षड्यन्त्रको आरोपमा फसे र उनलाई फाँसी दिइयो । उनले चाहेको भए सरकारसँग माफी मागेर रिहा हुन सक्थे । तर उनी जस्तो महामानव शत्रुसँग माफी माग्न जन्मिएको होइन भन्ने कुराको उनलाई गर्व थियो । त्यसबेला लेनिन १७ वर्षका थिए ।
आफ्नो दाजुलाई मृत्युदण्ड हुँदा लेनिन कत्ति पनि विचलित भएनन् । तर यस घटनाबाट उनीमा जारशाहीप्रति भयंकर घृणा पलायो । उनी राजधानी सेन्ट पिटर्सबर्गमा न्यायशास्त्र (कानून) अध्ययन गर्न चाहन्थे, तर उनलाई एक षड्यन्त्रकारीको भाइ भनियो र त्यहाँ उनले अनुमति पाएनन् । त्यसपछि उनी कजानमा विश्वविद्यायमा गए । तर त्यहाँको क्रान्तिकारी विद्यार्थी आन्दोलनमा भाग लिएका कारण त्यहाँबाट पनि निस्कासित भए । डिसेम्वर १८८७ मा विद्यार्थीहरूको क्रान्तिकारी सभामा सक्रियतापूर्वक भाग लिएको कारणले लेनिन विश्वविद्यालयबाट निष्कासित भए र पछि गिरफ्तार समेत भए । यहीबाट उनको सक्रिय क्रान्तिकारी जीवन शुरु भयो ।

सबै प्रकारका बाधा र असुविधाहरूको सामना गर्दै लेनिनले अन्ततः ब्यारिस्टर पास गरे, उनले कानून परीक्षामा शीर्ष स्थान हासिल गरे र १८९१ मा कानूनको डिग्री सके । लेनिन कानून अभ्यास गर्न १८९३ मा सेन्ट पिटर्सबर्ग गए । तर ब्यारिस्टरको पेशामा उनको रुचि थिएन । उनलाई अदालतको कानूनी कारबाहीमा उपहास महसुस हुन्थ्यो । धेरै समयपछि पनि उनी साथीभाइसँग अदालतका दिनको कुरा गरेर मजाकपूर्वक हाँस्ने गर्थे ।
युवावस्थामा नै लेनिनले माक्र्सवादको गहन ढंगले अध्ययनको शुरुवात गरेका थिए । लेनिनले माक्र्सवादलाई रूसी सर्वहाराले आफ्नो स्वतन्त्रता हासिल गर्ने र रूसमा समाजवादी व्यवस्था कायम गर्ने वैचारिक हतियारको रूपमा बुझेका थिए । यसरी लेनिन पक्का माक्र्सवादी बनेर वैज्ञानिक समाजवादका महान विचारधाराको तीव्रतापूर्वक प्रचारप्रसार गर्न थाले । लेनिनले माक्र्स र एङ्गेल्सका कृतिहरूको अध्ययन जारी राखे । नि.ए. फेदोसेएफ नामका रूसका प्रथम माक्र्सवादीबाट प्रभावित भई लेनिनले पनि काजानमा माक्र्सवादको अध्ययन शुरु गरेका थिए । माक्र्सवादको अध्ययनबाट लेनिनले सर्वहारा श्रमिक वर्गलाई पूँजीपति वर्गको शोषणबाट मुक्ति दिलाउन पूँजीवादी राज्यसत्तालाई ध्वंश गरी समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने कुरा सिके । उनले ल्याटिन ग्रिक, जर्मन, फ्रेन्च र अंग्रेजी, आदि विदेशी भाषाको गम्भीर अध्ययन गरे । यसै समयमा उनले जर्मन भाषाबाट रूसी भाषामा माक्र्स र एङ्गेल्सको एक महत्वपूर्ण कृति ‘‘कम्युनिस्ट घोषणापत्र”को अनुवाद समेत गरे । जुनबेला लेनिन क्रान्तिकारी आन्दोलनमा उत्रिरहेका थिए, त्यसबेला पश्चिम यूरोपको मजदूर आन्दोलनमा माक्र्सवादी बिचारधाराले ठाउँ लिइसकेको थियो, त्यो क्रमशः रूसतिर अगाडि बढिरहेको थियो ।
प्लेखानोभ रूसमा माक्र्सवादका पहिलो प्रमुख प्रचारक थिए । लेनिनले माक्र्सको प्रमुख कृति ‘पूँजी’को गहन अध्ययन गरे । युवा उमेरमा नै आफ्नो वाक्पटुताले अरुलाई आकर्षित गर्ने र विश्वास दिलाउने क्षमता लेनिनमा थियो । सन् १८९२ मा लेनिनले सामरामा पहिलो माक्र्सवादी अध्ययन समूह स्थापना गरे । लेनिनमा सरलता, सहृदयता र उत्साहका साथै गम्भीरता, गहन ज्ञान, कठोर तर्कशीलता, स्पष्ट र उत्कृष्ट विवेकशक्तिको अचम्मको समिश्रण पाइन्थ्यो । त्यसका सदस्यहरू माक्र्स र एङ्गेल्सका र अन्य साम्यवादी पुस्तकहरू पढ्थे र सक्रिय रूपमा माक्र्सवादको प्रचार गर्थे ।
सन् १८९३ मा पढाइ सकेपछि लेनिन सेन्ट पिटर्सबर्ग गए र त्यहाँ उनी विभिन्न क्रान्तिकारी गतिविधिहरूमा संलग्न भइरहे । त्यतिबेलासम्म उनी माक्र्सवादी भइसकेका थिए । माक्र्सवादी सिद्धान्त सर्वशक्तिमान छ, किनभने यो सत्य छ भन्ने कुरा लेनिनले बुझिसकेका थिए । सेन्ट पिटर्सबर्गमा रहँदा लेनिनले मजदूरहरूलाई संगठित गर्ने उद्देश्यले धेरै पत्रिकामा लेखहरू लेखे । विशेषगरी उनले सेन्ट पिटर्सबर्ग यूनियन फर द स्ट्रगल फर द इम्यानसिपेशन अफ लेबरलाई व्यवस्थित गर्न मद्दत गरे, जसले रूसी माक्र्सवादी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको थियो । सन् १८९३ नै देखि उनले रूसको कम्युनिस्ट विचारधाराको प्रचारप्रसार गर्न थाले । लेनिनले श्रमिक वर्गको हित रक्षाको लागि एक लीग गठन गरे । माक्र्सवादी विचारधाराअनुसार उनले मजदूरको हितका लागि क्रान्तिकारी संगठन बनाए । पिटर्सवर्ग आएपछि लेनिनले आफूलाई पूर्णरूपमा रूसको क्रान्तिकारी सर्वहारा नेतामा परिणत गरे । ठूलो ऊर्जा, आकांक्षा र संकल्पसहित उनी क्रान्तिकारी क्रियाकलापमा सक्रियतापूर्वक लागे ।
माक्र्सवादको गहन अध्ययन, रूसको सापेक्षतामा माक्र्सवादी विचारलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुराको ज्ञान, मजदूर आन्दोलनप्रति दृढ विश्वास र महान् संगठनात्मक प्रतिभाका कारणले गर्दा लेनिन छिट्टै पिटर्सवर्गमा माक्र्सवादीहरुको वरिष्ठ नेता बने । त्यतिबेला त्यहाँ उदारवादी नारोद्निकहरू थिए । उनीहरूले आफूलाई जनताका मित्र भन्थे भने माक्र्सवादीहरूलाई जनताका शत्रु भन्थे । यसको विरुद्ध लेनिनले ‘जनताका मित्र को हुन् र उनीहरू कसरी सामाजिक जनवादीहरूको विरुद्ध संघर्ष गर्छन् ?’ शीर्षकको पुस्तक प्रकाशित गरेर माक्र्सवादीहरूको रक्षा गरेका थिए । यो पुस्तक अत्यन्तै प्रसिद्ध समेत भएको थियो । यसरी लेनिनको अगुवाईमा रूसमा माक्र्सवादी पार्टीको स्थापना भयो र उनले सर्वहारा वर्गका लागि संगठनकर्ता र क्रान्तिकारी श्रमिक कार्यकर्ताहरू तयार गर्दै गए ।
लेनिनले लेखेका पुस्तक र पर्चाहरू अशिक्षित मजदूरहरूको लागि समेत महत्वपूर्ण हतियार सावित भए । यिनीहरूमा मजदूरको दयनीय स्थिति र उनीहरूको मुक्तिका मार्गहरू कोरिएका हुन्थे । सन् १८९५ मा लेनिन ‘श्रम मुक्ति’ दलसँग सम्बन्ध कायम गर्न र पश्चिम युरोपेली मजदूर आन्दोलनको अध्ययन गर्न विदेश गए । उनी स्विजरल्याण्ड हुँदै पेरिस र बर्लिनसम्म गए । स्विजरल्याण्डमा उनले ‘श्रम मुक्ति’ संगठनका नेताहरूसँग भेटे भने पेरिस र बर्लिनमा बस्दा उनी फ्रान्सेली र जर्मनी मजदूरहरूका विभिन्न कार्यक्रमहरूमा सहभागी भए । त्यहाँ उनीहरूको रहन–सहन र जीवन पद्धतिको अध्ययन गरे । यसरी उनले विदेशमा गएर मजदूर आन्दोलनको गहिरो अध्ययन गरे । सेप्टेम्बर १८९५ मा लेनिन पिटर्सवर्ग फर्किए र अझ धेरै उत्साहपूर्वक क्रान्तिकारी क्रियाकलापमा लागे । उनले विभिन्न आमसभाहरूको आयोजना गर्दै मजदूरहरूलाई आन्दोलित बनाइरहे । उनी क्रान्तिकारी मजदूरहरुका राजनीतिक पार्टी खोल्नतिर लागे । त्यही क्रममा सन् १८९५ मा लेनिनले पिटर्सवर्गका माक्र्सवादी अध्ययन समूहलाई एउटै राजनीतिक संस्थाको रूपमा संगठित गरे । पछि गएर यस संस्थालाई मजदूरवर्गको मुक्तिसंघर्ष संघ नाम दिइयो ।
यस संघले सम्पूर्ण रूसमा क्रान्तिकारी आन्दोलनको विकासका लागि प्रेरणा र मजदूरवर्गको माक्र्सवादी पार्टीको गठन गर्ने वातावरण तयार गर्याे । मुक्ति संघ रूसको क्रान्तिकारी माक्र्सवादी पार्टीको पहिलो बिज थियो । यसले रूसमा पहिलो पटक मजदूर आन्दोलनमा वैज्ञानिक समाजवाद प्रयोग गर्न थाल्यो । यसै कुरामा संघको महान् ऐतिहासिक भूमिका निहित थियो । शुरूमै यो संघले पिटर्सवर्गका कपडा कारखानाहरुका मजदूरहरुको प्रसिद्ध हड्तालको नेतृत्व गर्याे । उक्त हड्तालमा हजारौं मिल मजदूरहरूले भाग लिएका थिए । यसको क्रियाकलापमाथि कडा निगरानी राख्दै आएको जारशाही सरकारले छिट्टै संघमाथि प्रहार गर्याे । त्यसकारण लेनिनसहित संघका बहुसंख्यक कार्यकर्ताहरु गिरफ्तार भए । लेनिनले जेलमा बसेकै बेला ‘रूसमा पूँजीवादको विकास’ नामको प्रसिद्ध पुस्तक लेख्न शुरु गरे । यो पुस्तक लेख्न उनले ५८३ वटा किताब पढेका थिए भनिन्छ । यसबाट पनि लेनिन कति धेरै अध्ययनशिल थिए भन्ने कुराको पुष्टि हुन्छ ।
लेनिनको क्रान्तिकारी गतिविधि देखेर रूसका जार सम्राटले उनलाई सन् १८९७ देखि १९०० सम्म देशबाट निर्वासित गरेका थिए । सन् १८९७ मा उनी गिरफ्तार भए र ३ वर्षको लागि उनलाई साइबेरिया निर्वासित गरियो । उनलाई पक्रिएर जेलमा पनि हालिएको थियो ।
क्याटेगोरी : बिचार


















प्रतिक्रिया