जेन–जी आन्दोलनपछि कम्युनिस्ट पुनर्निर्माणको आह्वान : ‘संक्रमणकालीन विशेष नीति’ को प्रस्ताव
काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन आज गम्भीर मोडमा उभिएको छ । जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक तरंग, नेतृत्वप्रतिको प्रश्न र वैचारिक पुनर्संरचनाको बहसबीच नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हरिबोल गजुरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विचारले व्यापक ध्यान खिचेको छ ।
उहाँको यो बहसले वर्तमान संकट, पुस्तान्तरण, नेतृत्वको भूमिका र आगामी संघीय निर्वाचनमा अपनाइनुपर्ने ‘संक्रमणकालीन विशेष नीति’ बारे स्पष्ट राजनीतिक धारणा प्रस्तुत गर्छ ।
नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेताले सामाजिक सञ्जालमा `केही भन्नु छ´ भन्दै लेखेका छन्,
जेन–जी आन्दोलनपछिको राष्ट्रिय संकट समाधान गर्न सक्षम शक्ति निर्माण, पार्टीहरूभित्र मौलाउँदै गएको व्यक्ति–केन्द्रित किचलोको अन्त्य र बरालिएको विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको बाटोबाट जनअपेक्षा पूरा गर्नु—आज नेपाली कम्युनिस्ट पार्टी निर्माणको ऐतिहासिक आवश्यकता बनेको छ ।
यो केवल संगठनात्मक पुनर्संरचना होइन; नेपाली विशेषतासहितको समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा तय गर्ने निर्णायक क्षण हो ।
जेन–जी आन्दोलन रूसको १९०५ को विद्रोहसँग पूर्णतः मेल नखाए पनि नयाँ विश्व परिवेशअनुसारको समाजवादी रूपान्तरणको एक पूर्वाभ्यासका रूपमा बुझिनुपर्छ । यहाँ ऐतिहासिक समानताभन्दा पनि यसको राजनीतिक संकेत र सन्देशलाई आत्मसात गर्नु मुख्य प्रश्न हो ।
यसर्थ, जेन–जी आन्दोलनको मर्म र भावनाको औपचारिक समर्थन मात्र पर्याप्त छैन—यसको स्पिरिट व्यवहारमा उतार्नु नै वास्तविक परीक्षा हो । संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूका काम–कारबाहीप्रति जेन–जीले उठाएका गम्भीर प्रश्नलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्छ । संस्थागत समीक्षा, आत्मालोचना र व्यवहारगत रूपान्तरणसहित नेतृत्वको मूल टिम यो पुस्तासँग अन्तरघुलन गर्दै अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो ।
त्यागका शाब्दिक नारा र स्वघोषणाले होइन, नीतिगत र विधिगत निर्णयले मात्र पार्टी पंक्ति र समाजलाई उद्देलित गर्न सक्छ ।
यही अग्निपरीक्षामा खरो उत्रिने पार्टी र नेतृत्व मात्र जेन–जी पुस्ताको वास्तविक अभिभावक ठहरिनेछन् ।
अब समय आएको छ—
संसदवादी जडताबाट मुक्त, सिद्धान्तनिष्ठ र इमानदार पार्टी पंक्ति निर्माण गर्ने ।
यसका लागि चाकडी–चापलुसी र अनावश्यक सत्ता–संघर्ष मुक्त, रचनात्मक सोच, संघर्षशीलता र ऊर्जाशीलताले भरिएका नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउने संकल्प गरौ !
यही ऊर्जा र प्रतिबद्धताले मात्र पार्टीलाई नयाँ दिशा दिन सक्छ, समाजमा परिवर्तनको लहर सिर्जना गर्न सक्छ र राष्ट्रको समग्र विकासको आधार तयार गर्न सक्छ ।
आगामी संघीय निर्वाचनमा अपवादबाहेक “संक्रमणकालीन विशेष नीति” अनुसार पूर्व प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू प्रत्यक्ष वा समानुपातिक उम्मेदवार नहुने निर्णय गर्नु उपयुक्त र सन्मानजनक हुन्छ । उनीहरूको भूमिका वैचारिक निरन्तरता कायम राख्ने, संगठनात्मक अनुभव सम्प्रेषण गर्ने र संस्थागत स्मृतिको संरक्षणमा केन्द्रित हुनुपर्छ ।
संघीय संसदका उम्मेदवारका रूपमा नयाँ अनुहार, नयाँ सोच र नयाँ क्षमताको चयन अनिवार्य छ । परम्परागत अभ्यासको अन्त्य गर्दै समानुपातिक प्रणालीमार्फत पार्टीभित्र र बाहिरका योग्य, प्रतिबद्ध र जनसरोकारसँग गाँसिएका क्षमताको केन्द्रित चयन आजको माग हो ।
जेन–जी आन्दोलनले प्रश्न मात्र उठाएको छैन; उत्तर खोज्न बाध्य बनाएको छ । अब इतिहास टार्ने होइन—निर्माण गर्ने घडी आएको छ ।
यही नै जेन–जी आन्दोलनप्रतिको सच्चा सम्मान हो ।
यही नै कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको बाटो हो ।
नेपाली कम्युनिस्ट पार्टी – जिन्दावाद !
क्याटेगोरी : बिचार



















प्रतिक्रिया