Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

कसैको अनुहार हेरेर करका दर परिमार्जन गरेको होइनः अर्थमन्त्री


अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यबारे कसैको अनुहार हेरेर करका दर परिमार्जन नगरिएको दाबी गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले कच्चा पदार्थ अनुसार नै भन्सार दर र अन्तशुल्क कायम गरिएको बताएका हुन् ।

‘कच्चा पदार्थ अनुसार नै भन्सार दर र अन्तशुल्क कायम गरिएको हो,’ उनले भने ‘करका दर औचित्यसहित परिवर्तन गरिएको हो ।’ अर्थमन्त्री पुनले स्क्र्यापमा १ प्रतिशत, स्पन्जमा २.५ प्रतिशत र बिलेटमा ५ प्रतिशत भन्सार शुल्क लगाइएको बताएका छन् । आफूहरू सीमाले दिएसम्म निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न थालेको बताउँदै अब पनि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गरिएका प्रक्षेपणको कारण पनि यसपटक दबाब परेको बताए । ‘बजेट निर्माणको क्रममा धेरै हतारोजस्तो, दबाबजस्तो र राजनीतिक रूपले पनि संसद्‌मा बजेट पेश हुन्छ कि हुन्न भन्ने अवस्थामा हामी थियौँ’, ‘अहिले यहाँसम्म आउँदा आज रिल्याक्स मुडमै छौं’ मन्त्री पुनले भने ।

यस्तै, मन्त्री पुनले कृषि मन्त्रालयसँग नै कुरा गरेर मलका लागि अनुदान छुट्याइएको बताए । उनले बजेटमा केही प्राविधिक त्रुटी देखिएपनि अन्य हिसाबले सही रहेको बताएका छन् । उनले चितवन, पोखरा र लुम्बिनी क्षेत्रलाई आर्थिक गतिविधिको त्रिभुजका रूपमा विकास गर्न खोजेको पनि जानकारी दिए । उनले बजेट बोक्ने झोला नेपाली प्रयोग भएको र अब आफ्नो मन्त्रालयमा नेपाली फर्निचर मात्रै प्रयोग गर्ने योजना रहेको समेत बताए ।

उनले पूर्वाधार निर्माणको काम दुई सिफ्टमा गरेर पनि छिटो आयोजना सकौं भन्ने नीति सरकारले लिएको बताए । सरकारले बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको र यो एक्लैको प्रयासले नहुने उनले बताए । निजी क्षेत्र, किसान र सरकारको संयुक्त प्रयासमा कृषिलाई व्यावसायिक बनाउन खोजिएको उनको भनाइ छ ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले युवा पुस्तालाई नयाँ अवसर देखाएको समेत बताएका छन् । आम जनतामा आशा जगाउने प्रयत्न गरिएको अर्थमन्त्रीको भनाइ छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट