Techie IT
Samayabaddha
शुक्रबार, २१ कात्तिक, २०८२

मनसुनी प्रणाली चार दिनदेखि कोसीबाट अघि बढ्न सकेन


मनसुनी प्रणाली नेपाल प्रवेश गरेको चार दिन भए पनि कोसी प्रदेशबाट पश्चिमतर्फ अगाडि बढ्न सकेको छैन । सोमबार कोसी प्रदेशमा मनसुनी प्रणाली प्रवेश गरेपनि बिहीबारसम्म पनि यो प्रणाली सोही प्रदेशमा मात्र सीमित छ ।

“आज (बिहीबार) सम्म पनि मनसुनी प्रणाली कोसी प्रदेशमा मात्र छ । मधेस प्रदेशमा पनि प्रवेश गर्न सकेको छैन,” मौसमविद् विनु महर्जन बाह्रखरीसँग भन्छिन्, “अब केही अगाडि बढ्नलाई सहज अवस्था होला कि जस्तो देखिएको छ ।”

पश्चिमी वायुको प्रभावले मनसुनी वायुलाई ‘डोमिनेन्स’ गरिरहेका कारण मनसुनी प्रणाली पश्चिमतर्फ सर्न नसकेको उनको भनाइ छ । पश्चिमबाट पूर्वतर्फ हावा चलेकाले मनसुन पश्चिमतर्फ सर्न नसकेको हो ।

“मनसुनी प्रणालीको विशेषता नै यस्तै हो । कहिले दुई दिनमै पूरै नेपालभर फैलिसक्छ । कहिले १०/१२ दिन पनि लाग्छ,” मौसमविद् महर्जन भन्छिन् ।

मनसुनी प्रणालीका कारण कोसी प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । तर यी प्रदेशमा पश्चिमी र स्थानीय वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण वर्षा भएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट