Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

नेपालमा क्यान्सर उपचारमा ठूलो छलाङ


नोबेलले रेडिएसन थेरापीको अत्याधुनिक उपकरण ‘EDGE’ सहित सुरु गर्यो क्यान्सर उपचार सेवा

नेपालमा क्यान्सर उपचारमा नयाँ युगको सुरुवात भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले ३ अर्ब ४० करोड रुपैयाँको लगानीमा अत्याधुनिक रेडिएसन थेरापी सेवा सुरु गरेको छ । नेपालमै पहिलोपटक सञ्चालनमा आएको अमेरिकामा निर्मित भेरियन कम्पनीको ‘EDGE’ नामक उपकरण क्यान्सर उपचारका लागि उच्च प्रविधियुक्त मानिन्छ । यो उपकरण दक्षिण एसियामा केवल छ स्थानमा मात्र उपलब्ध छ ।

नोबेल मेडिकल कलेजका संस्थापक एवं नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको नेतृत्वमा यो सेवा सुरु भएको हो । आम नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै डा. शर्माले आधुनिक क्यान्सर उपचारका लागि नवीनतम उपकरण, दक्ष जनशक्ति र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गरेका छन् ।

अत्याधुनिक प्रविधि र सुविधाहरू

‘EDGE’  रेडिएसन थेरापी उपकरण शल्यक्रियाविना नै क्यान्सर सेललाई निशाना बनाउन सक्षम छ । यसमा रहेको ६डी काउच, हाइपर आर्क, एचडी एमआईसी, एसआरएस र एसबीआरटीले शल्यक्रियाविना क्यान्सर सेललाई मात्र लक्षित गरी सामान्य सेललाई कुनै क्षति पुर्‍याउँदैन । यो प्रविधि क्यान्सर उपचारमा विश्वकै अत्याधुनिक मानिन्छ । साथै, ब्राकी थेरापीले उपकरणको सहायताले विना दुःखाइ शरीरभित्रै पुगेर क्यान्सर सेललाई नष्ट गर्ने सुविधा प्रदान गर्दछ ।

यसका साथै, ४डी आरटीसीटी नामक सीटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । नोबेल मेडिकल कलेजमा दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्स-रे, सीटी स्क्यान, एमआरआई, केमो थेरापी, शल्यक्रिया र रेडिएसन थेरापीजस्ता सेवा उपलब्ध छन् ।

गरिबका लागि उपचारमा विशेष व्यवस्था

नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी आर्थिक रूपले कमजोर वर्गका रोगीलाई ठूलो राहत दिएको छ । सामाजिक सेवा इकाईमार्फत् यस्तो सेवाको सहजीकरण गर्दै आएको छ ।

डा. शर्माले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई निःशुल्क क्याबिनको व्यवस्था गरेका छन् भने काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि गरिब तथा आर्थिक रूपमा विपन्न बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएका छन् ।

पूर्वाधार विकास र सामुदायिक सेवा

नोबेल मेडिकल कलेजलाई एसियाकै प्रतिष्ठित अस्पतालका रूपमा विकास गर्न डा. शर्माले ठूलो प्रयास गरेका छन् । क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण मात्र नभई दक्ष जनशक्ति, विशेष भवन र विश्वस्तरीय सुविधाहरूको व्यवस्था गरी उनले क्यान्सर रोगीका लागि सहज वातावरण तयार गरेका छन् ।

सांसद डा. शर्माले नेपालका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं बिरामीलाई सेवा दिएका छन् । शिविरमा उपचार गर्न नसकिने बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था उनले गरेका छन् ।

नेपालमै क्यान्सर उपचारको नयाँ युग

नोबेल मेडिकल कलेजमा ‘EDGE’ प्रविधिको आगमनसँगै नेपालमा क्यान्सर उपचारका लागि नयाँ युगको सुरुवात भएको छ । यसले नेपाली नागरिकलाई महँगो उपचारका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट