Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति स्वीकार्य हुँदैन : रुसी राष्ट्रपति पुटिन


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न तयार रहेको तर वार्तामा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको उपस्थिति अस्वीकार्य रहेको बताएका छन् ।

जेलेन्स्की अवैध नेता भएकाले उनीसँग वार्ता गर्न नसकिने पुटिनले बताएका समाचार संस्था एएफपीले जनाएको छ । जेलेन्स्कीको कार्यकाल गएको वर्ष नै सकिए पनि सैन्य कानून लगाएर अवैध रूपले सत्ता चलाइरहेकाले उनी अवैध नेता भएको पुटिनको तर्क छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि दुवै पक्षलाई लडाइँ अन्त्य गर्न दबाब दिइरहनुभएको छ । ट्रम्पले यदि वार्ता नगरेमा रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन् ।

तर पुटिनले भने जेलेन्स्कीसँग वार्तामा नबस्ने बताएका हुन् । यदि साँच्चिकै वार्ता गर्ने हो भने युक्रेनले जेलेन्स्कीबाहेकको वार्ता टोली बनाउनुपर्ने उनले उल्लेख गरे। यदि पश्चिमा देशले युक्रेनलाई दिएको सहयोग घट्यो भने लडाइँ दुई महिना वा त्योभन्दा कम समयमा समाप्त हुने पनि पुटिनको भनाइ छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिनको यो भनाइबाट रुसले युद्ध अन्त्य गर्न नचाहेको पुष्टि भएको बताउँदै रुसमाथि थप प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको खाँचो रहेको बताएका छन् । लडाइँ रोक्ने प्रयासलाई पुटिनले पटक पटक निराश बनाइरहेको भन्दै जेलेन्स्कीले पुटिन वार्ताबाट डराएको र युद्ध लम्बाउन सबैखाले हर्कत गर्न तयार रहेको आरोप लगाएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट