“KIIT विद्यार्थीको दर्दनाक पत्र”

अचानक कोठाको ढोका जोडले ठोकियो।
रातको समय थियो, उनीहरू गहिरो निद्रामा थिए। आँखा मिच्दै ढोका खोल्न नपाउँदै केही बाउन्सरहरू, एकजना गार्ड (सातमध्ये केवल एकजनासँग मात्र परिचयपत्र थियो), र सरसफाइ कर्मचारी कोठाभित्र छिरे।
“कहाँबाट हो?”—गम्भीर आवाज आयो।
“नेपालबाट।”
बस यत्ति सुन्नासाथ उनीहरूको व्यवहार बदलियो। “बोरिया-बिस्तर बाँध, यहाँबाट तुरुन्त निस्क।” कुनै सूचना थिएन, कुनै स्पष्टीकरण थिएन।
“हामीलाई किन निकाल्दै हुनुहुन्छ?”
तर उत्तर दिनुको सट्टा उनीहरूले झन् आक्रामक रूप लिए। मोबाइल बुझाउन आदेश दिए। अस्वीकार गर्दा थप्पड बजाइयो, कुर्सीले हान्ने धम्की दिइयो।
सबैभन्दा त्रासदीपूर्ण क्षण थियो जब उनीहरूमध्ये एकजना चिच्याएर बोले, “तिमीहरू जस्ता नेपालीलाई काटेर फाल्दा पनि कसैलाई थाहा हुँदैन!”
सुरक्षित ठाउँ छैन, घर फर्किनुको संघर्ष
एकाएक उनीहरूलाई सडकमा छोडियो। त्यही रात उनीहरू भोकै, निद्राविहीन भौँतारिए। खानेकुरा भनेको केही स्न्याक्स र पानी मात्र।
त्यसपछि सुरु भयो घर फर्कने साहसिक तर पीडादायी यात्रा—दुईवटा रेल, तीनवटा बस, दुईवटा अटो। थकानले ज्यान गलिसकेको थियो, तर अझै यात्रा बाँकी नै थियो। अझै एक बस र एउटा अटो या ट्याक्सी चढेपछि मात्रै घर पुग्न सकिन्थ्यो।
तर यो यात्रामा पनि चुनौती सकिएको थिएन। सहयात्री अपरिचित भए पनि, केही दयालु आत्माहरूले पानी र खाना दिए। तर आफ्नै विश्वविद्यालयका शिक्षकहरूले भने “तिमीहरू नेपालबाट आएको गरीब विद्यार्थी हौ, यहाँको स्तरिय शिक्षा लिन लायक छैनौ” भनेर अपमान गरे।
अब के गर्ने? फर्किनु उचित होला?
चारैतिरबाट एउटै प्रश्न आइरहेको छ—“फर्किन्छौ कि……?”
तर अब त्यहाँ गएर सुरक्षित महसुस गर्न सकिन्छ? आफ्नै आँखाले साथीहरू कुटिएको देखेका छन्।
“हामीलाई सुरक्षा ग्यारेन्टी छ?”
“फेरि त्यही भयो भने जिम्मेवारी कसले लिन्छ?”
र अन्ततः, सबैभन्दा गहिरो प्रश्न—“यदि म तपाईंको आफ्नै छोरा वा छोरी हुँ भने, के तपाईं मलाई त्यहाँ फर्कन दिनुहुन्छ?”
नेपाल सरकारको मौनताले थप चिन्ता
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहँदै आएको भए पनि, यस्तो व्यवहारले भविष्यमा दुई देशका विद्यार्थी आदानप्रदान कार्यक्रम, शैक्षिक अवसर र आपसी सम्बन्धमा असर पार्न सक्छ।
सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। नेपाली विद्यार्थीमाथि भएको अन्यायका बारेमा नेपाल सरकारले औपचारिक रूपमा ध्यान दिनुपर्ने माग उठेको छ।
तर अहिलेसम्म कुनै ठोस कदम चालिएको छैन। अब प्रश्न उठ्छ—के नेपाली विद्यार्थीहरू अब भारतमा आफूलाई सुरक्षित महसुस गर्न सक्नेछन्?
क्याटेगोरी : राजनीति
प्रतिक्रिया