Techie IT
Samayabaddha
शनिबार, १९ पुस, २०८२

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क हुने


काठमाडौं, १३ चैत । सरकारले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सञ्चालक समिति अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए ।

आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरिएको उनले बताए । हाल स्वास्थ्य मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रतिबालबालिका दुई लाख ५० हजार सहायता दिँदै आएको छ ।

उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

यस वर्षको पुस महिनासम्म ४८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । “आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो,” मन्त्री पौडेलले भने, “यसका लागि थप स्रोतको खोजी गरिनेछ ।”

सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहहरूसँग समेत सम्झौता गर्ने निर्णय गरेको छ ।

नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट